तीनवटै उत्तरी नाका बन्द : चीनसँगको व्यापार ठप्प, चाडपर्वको मुखमा महँगीको मारमा उपभोक्ता

काठमाडौं । बाढीपहिरोका कारण नेपाल–चीनबीचका तीन प्रमुख उत्तरी व्यापारिक नाका बन्द हुँदा चाडपर्वको मुखमा आयात व्यापार प्रभावित भएको छ । रसुवागढी, तातोपानी र मुस्ताङको कोरला नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने सामान रोकिएका छन् ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले भन्सार, सडकसहितका संरचनामा क्षति पुर्‍याएपछि रसुवागढी नाका बन्द भएको थियो । त्यसपछि पहिरोको जोखिम देखाउँदै चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आयात–निर्यातसमेत रोकेको थियो ।

काठमाडौंसँगको दूरीका हिसाबले नजिक पर्ने दुवै नाका बन्द भएपछि व्यापारीले मुस्ताङको कोरला नाका प्रयोग गर्न थालेका थिए ।

तर, असोज ९ देखि ११ गतेसम्म परेको भारी वर्षाका कारण बेनी–जोमसोम सडकखण्डमा ठाउँ–ठाउँमा पहिरो गएपछि कोरला नाकाबाट समेत आयात–निर्यात प्रभावित भएको छ ।

कोरला नाका हुँदै नेपाल प्रवेश गरेका करिब दुई सय कन्टेनर तथा सयौँ विद्युतीय गाडी मुस्ताङमै रोकिएका छन् । तीनवटै उत्तरी नाका बन्द हुँदा चीनबाट आयात हुने तयारी पोसाक, जाडोका कपडा, विद्युतीय सवारीसाधनलगायत वस्तुको आपूर्ति प्रभावित भएको व्यवसायीहरूले बताएका छन् ।

चाडपर्वको समयमा सामानको माग बढ्ने भए पनि नियमित आपूर्ति हुन नसक्दा बजारमा अभाव र मूल्यवृद्धिको जोखिम बढेको उनीहरूको भनाइ छ ।

चीनबाट आयात व्यापारमा संलग्न व्यवसायीको संस्था एकता व्यापार संघ नेपालका अध्यक्ष तेजप्रसाद आचार्यले नाका बन्द हुँदा बजारमा आउनुपर्ने सामान आउन नसकेको बताए ।

उनका अनुसार नियमित नाकाबाट सामान ल्याउन नसक्दा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएकाले ढुवानी खर्च अत्यधिक बढेको छ । “हिजो ७५ हजार तिर्ने गाडी भाडा फरक–फरक नाका घुमाउँदा–घुमाउँदै ५ लाखसम्म पुगेको अवस्था छ,” उनले भने, “तीन महिना लगाएर ल्याएको सामानको लगानी र ब्याज त्यसैमा जोडिन्छ । व्यापारीले घाटा खाएर बेच्ने कुरा हुँदैन ।”

तीज र दसैँलाई लक्षित गरेर व्यवसायीले गरेको लगानीसमेत नाकामै रोकिएको आचार्यले बताए । अहिले जाडोका सामान ल्याउने समय भए पनि उत्तरी नाका तथा सडक अवरुद्ध हुँदा आपूर्ति प्रभावित भएको उनको भनाइ छ ।

“तीज र दसैँलाई भनेर लगानी गरेको पुँजी त्यहीँ नाकामै रह्यो । अहिले जाडोको सामान ल्याउनुपर्ने बेलामा बाटो ठप्प भएको अवस्था छ,” उनले भने, “उत्तरी नाकाबाट सामान आउँदा १५ दिनसम्म लाग्छ । अब भारतबाट आउने सामान हालेर सम्भावना छैन । जाडोको कपडा नै अभाव हुने अवस्था छ ।”

नाका बन्द हुँदा व्यापार तथा व्यवसायमा परेको असर कम गर्न सरकारले तत्काल कूटनीतिक पहल र आवश्यक पूर्वाधार पुनर्निर्माणमा सक्रियता देखाउनुपर्ने व्यवसायीहरूको माग छ । नाका बन्द हुनु व्यवसायीका साथै राज्यको राजस्व र समग्र अर्थतन्त्रका लागि समेत असर पर्ने उनीहरूको भनाइ छ ।

अर्का व्यवसायी राजकुमार श्रेष्ठले गत वर्षको तुलनामा यस वर्ष सामानको आयात र व्यापार दुवै घटेको बताए । नियमित आयात हुने नाका बन्द भएपछि वैकल्पिक नाका प्रयोग गर्नुपर्दा यातायात खर्च बढेको र त्यसको असर सामानको मूल्यमा परेको उनको भनाइ छ ।

नेपालको तयारी पोसाकको ठूलो हिस्सा चीनबाट आयात हुने गरेको छ । विद्युतीय सवारीसाधनसहित विभिन्न वस्तुको आयातमा पनि चीन नेपालको प्रमुख व्यापारिक साझेदारमध्ये एक हो । तर, उत्तरी नाका बन्द भएपछि चाडपर्वका लागि आवश्यक वस्तुको आपूर्तिमा असर परेको छ ।

व्यवसायीका अनुसार नियमित स्रोतबाट सामान ल्याउन नसक्दा वैकल्पिक स्रोत तथा मार्गमा निर्भर हुनुपर्ने अवस्था आएको छ । यसले ढुवानी लागत बढाउने र त्यसको प्रत्यक्ष प्रभाव उपभोक्ताले तिर्नुपर्ने बजार मूल्यमा पर्न सक्ने देखिएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले बिर्तामोड, झापाका वृद्वआश्रममा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ  । बैंकले