काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका रहे पनि भारी वर्षा र केही प्राविधिक कारणले समय सारिएको हो ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।
प्रतिनिधिको प्रदेश तथा समूहअनुसार विभिन्न मतदान केन्द्र तोकिएका छन् । मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ ।
निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निषेध गरिएका सामग्री नलैजान प्रतिनिधिलाई आग्रह गरेको छ । मतदान सकिएपछि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।


