काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र ऊर्जा मन्त्रालयका अधिकारीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो ।
समिति सभापति भरतबहादुर खड्काले आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिँदै प्राप्त कागजात अध्ययनपछि थप छलफल गरिने बताएका छन् ।
टेन्डर प्रक्रिया पूरा भइसकेपछि सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का अन्तिम समयमा रद्द गरिएको भन्दै समितिमा उजुरी परेको थियो ।
उजुरीकर्ताले ठेक्का रद्द गर्ने प्रक्रिया त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । तर, विभागका महानिर्देशक रजौरियाले भने ठेक्का रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।
सुनकोशी–मरिण आयोजनामार्फत बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने तथा २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ वैशाख २६ गते भए पनि त्यसयता काम अघि बढ्न सकेको छैन ।


