राष्ट्रिय कृषि नीति २०८३ : कृषि भूमि संरक्षणदेखि रैथाने बालीको पेटेन्ट दर्तासम्म व्यवस्था

२० साउन, काठमाडौं । सरकारले कृषि क्षेत्रको व्यावसायीकरण, आधुनिकीकरण र आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ‘राष्ट्रिय कृषि नीति, २०८३’ जारी गरेको छ ।

मन्त्रिपरिषद्को २४ असारको निर्णयबाट स्वीकृत यस नीतिले २२ वर्ष पुरानो ‘राष्ट्रिय कृषि नीति, २०६१’ लाई औपचारिक रूपमा विस्थापित गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारलाई व्यवस्थित गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दीर्घकालीन लक्ष्य हासिल गर्न ल्याइएको यस नीतिले उत्पादन, प्रशोधन, बजार र निर्यातसम्मको सम्पूर्ण शृङ्खलालाई समेट्ने प्रयास गरेको छ ।

नयाँ नीतिले कृषियोग्य भूमिको खण्डीकरण र अतिक्रमणलाई गम्भीर रूपमा लिँदै हाल कृषि चलनमा रहेको करिब २० लाख हेक्टर (९० प्रतिशत) खेतीयोग्य जमिनलाई कृषि कार्यका लागि मात्रै सुरक्षित राख्ने कानुनी प्रबन्ध गर्ने घोषणा गरेको छ ।

भूमिको चक्लाबन्दी, बाँझो जग्गाको सदुपयोग तथा सीमान्तकृत र नदी उकास जग्गाको अधिकतम उपयोगका लागि विशेष कार्यक्रम ल्याइनेछ ।

साथै, व्यवसायीकरणका लागि सामूहिक, करार वा सहकारी खेतीलाई प्रवद्र्धन गर्ने र कृषि यान्त्रीकरणका लागि प्रदेश र स्थानीय तहमा ‘कस्टम हायरिङ सेन्टर’ स्थापना गरिने नीतिमा उल्लेख छ ।

साना र सीमान्त कृषक तथा लघु उद्यमीहरूलाई उनीहरूको व्यवसायलाई नै धितो मानेर सुलभ कर्जा उपलब्ध गराउने क्रान्तिकारी व्यवस्था समेत यसमा समेटिएको छ ।खाद्य तथा पोषण सुरक्षालाई राष्ट्रिय सुरक्षाको आधार मान्दै नीतिले आपत्कालीन अवस्थाका लागि तीनै तहको सरकारको समन्वयमा प्रदेश स्तरमा खाद्यान्नको ‘बफर स्टक’ (जगेडा भण्डार) र स्थानीय तहमा ‘खाद्य भण्डार गृह’ निर्माण गर्ने व्यवस्था गरेको छ ।

खाद्यान्न उत्पादन कम हुने क्षेत्रमा आय विविधीकरणका कार्यक्रम सञ्चालन गरिनेछ भने खाद्य पदार्थमा पौष्टिक तत्त्वको स्तरोन्नति गर्न सरकारी तथा निजी क्षेत्रलाई परिचालन गरिनेछ । साथै, कृषि उपजहरूको द्रुत र सुरक्षित ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालन गर्ने र यसलाई अत्यावश्यक सेवाको रूपमा निर्बाध सञ्चालन गर्न दिने व्यवस्था नीतिले गरेको छ ।

किसानको पहिचान र मर्यादालाई उच्च प्राथमिकतामा राख्दै स्थानीय तहबाट किसानको पञ्जीकरण गरी ‘कृषक परिचयपत्र’ वितरण गरिनेछ । यसै परिचयपत्रका आधारमा किसानले अनुदान, सहुलियत कर्जा र कृषि बिमाको लाभ लिन पाउनेछन् ।

अनुदान प्रणालीलाई पारदर्शी बनाउन विद्युतीय र भौचर प्रणाली लागु गर्दै मल र बिउ जस्ता सामग्रीमा ‘लागतमा आधारित’ र अन्यमा ‘उत्पादनमा आधारित’ अनुदान दिइनेछ।

किसानले उत्पादन गर्नुअगावै आधारभूत र रणनीतिक बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र बजार नपाएमा सरकारले व्यवस्थापन गर्ने सुनिश्चितता नीतिले गरेको छ । कृषि उपजको बजार सुनिश्चित गर्न डिजिटल बजार प्रवर्द्धन र ‘मार्केट इन्टेलिजेन्स प्रणाली’ विकास गरिने कुरालाई पनि नीतिले महत्त्व दिएको छ ।

कृषि जैविक विविधता र रैथाने बालीको संरक्षणमा नीतिले विशेष चासो देखाएको छ । कोदो, फापर, बाजरा, चिनो, कागुनो जस्ता लोपोन्मुख र सीमान्तकृत जमिनमा फल्ने बालीहरूको प्रवर्द्धन गरिनेछ ।

उच्च पहाडी र हिमाली भेगमा पाइने याक, चौँरी, भेडा, च्याङ्ग्रा जस्ता पशुपन्छी र रैथाने बालीहरूको अभिलेखीकरण गरी भौगोलिक संकेतीकरण र पेटेन्ट राइट दर्ता गरिनेछ । यसका लागि ‘फिल्ड जिन बैंक’ र ‘बायोडाइभर्सिटी पार्क’ स्थापना गरिने बताइएको छ ।

रासायनिक मलको परनिर्भरता कम गर्दै डिजिटल स्वायल म्यापिङका आधारमा ‘माटोको स्वास्थ्य कार्ड’ वितरण गर्ने र जैविक तथा प्राङ्गारिक खेतीलाई राष्ट्रिय अभियानकै रूपमा अघि बढाउने नीतिको लक्ष्य रहेको छ ।

कृषि अनुसन्धान र शिक्षाको क्षेत्रमा व्यापक संरचनात्मक सुधारको परिकल्पना नीतिले गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई भौगोलिक क्षेत्र र प्रदेश स्तरमा विषयगत अनुसन्धान केन्द्रका रूपमा पुनर्संरचना गरिनेछ भने कृषि शिक्षाको गुणस्तर नियमन गर्न ‘कृषि परिषद्’ गठन गरिनेछ ।

कृषिमा वैदेशिक लगानी भित्र्याउनुका साथै कृषिसम्बन्धी छुट्टै ‘तथ्यांक एकाइ’ खडा गर्ने व्यवस्था नीतिमा छ । नीति कार्यान्वयनको अनुगमन गर्न संघ, प्रदेश र स्थानीय तहमा कृषि विकास समितिहरू गठन हुनेछन् भने वार्षिक रूपमा ‘संयुक्त कृषि क्षेत्र समीक्षा’ मार्फत मूल्यांकन गरी प्रत्येक ५ वर्षमा यस नीतिको पुनरावलोकन गरिने व्यवस्था सरकारले मिलाएको छ ।

सौजन्य: https://www.onlinekhabar.com/business

तस्बिर सौजन्य: The Annapurna Express

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री