काठमाडौं । दिग्गज बलिउड तथा मराठी अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित निवासमा उनलाई गम्भीर कार्डियक अरेस्ट भएको थियो ।
बिहीबार बिहान करिब ५ः२० बजे उनलाई मृत घोषणा गरिएको हो । अचेत अवस्थामा भेटिएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआरसहित बचाउने प्रयास गरे पनि उनलाई बचाउन सकेनन् ।
नाना पाटेकर हिन्दी र मराठी सिनेमाका प्रभावशाली अभिनेतामध्ये एक थिए । सन् १९७८ मा ‘गमन’बाट हिन्दी सिनेमामा प्रवेश गरेका उनले ‘सलाम बम्बे ’, ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी द म्युजिकल’, ‘अब तक छप्पन’, ‘राजनीति’ र ‘वेलकम’लगायत चर्चित फिल्ममा अभिनय गरेका थिए ।
‘परिन्दा’ र ‘क्रान्तिवीर’ लगायतका फिल्ममा दमदार अभिनयका लागि उनले राष्ट्रिय फिल्म पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थिए । आफ्नो विशिष्ट संवाद शैली र गम्भीर अभिनयका कारण उनले भारतीय सिनेमामा छुट्टै पहिचान बनाएका थिए ।
अभिनयसँगै उनी निर्माता, निर्देशक तथा लेखकका रूपमा समेत सक्रिय थिए । उनको निधनले भारतीय फिल्म क्षेत्रमा ठूलो क्षति पुगेको छ ।


