काठमाडौं। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै अष्ट्रेलिया र लिथुआनिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने २६ वर्षीया माल्भिका रावल र ललितपुर महानगरपालिका–२४ बस्ने ४२ वर्षीय सन्तोष खड्का रहेका छन्।
प्रहरीका अनुसार माल्भिकाले अष्ट्रेलिया पठाइदिने भन्दै एक जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ लिएकी थिइन्। त्यसैगरी, सन्तोषले लिथुआनिया पठाइदिने प्रलोभनमा एक जना पीडितबाट एक लाख रुपैयाँ असुलेका थिए। रकम लिएपछि दुवै जना सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो। उनीहरूले दुई जना पीडितबाट कुल ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक विवरण छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


