काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भारत सरकारले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । तर, घोषित सहयोगको ठूलो हिस्सा ऋणमा आधारित हुनु र यसअघिका प्रतिबद्धतासमेत पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको पृष्ठभूमिमा उक्त रकम कसरी प्राप्त गर्ने र प्रभावकारी रूपमा परिचालन गर्ने भन्ने विषय महत्त्वपूर्ण बनेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई निकट मित्र तथा छिमेकी राष्ट्रका रूपमा उल्लेख गर्दै नेपालको विकास यात्रामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आर्थिक, प्राविधिक तथा सामाजिक क्षेत्रमा भारतको साथ कायम रहने बताएका छन् ।
सम्झौताअनुसार भारतले नेपालको विकासका लागि कुल १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् करिब २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउनेछ । यसमध्ये विपत्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि ३ हजार ५०० करोड भारतीय रुपैयाँ अर्थात् करिब ५६ अर्ब नेपाली रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरिएको छ ।
त्यस्तै, ऊर्जा क्षेत्रका परियोजनाका लागि ११ हजार ५०० करोड भारतीय रुपैयाँ अर्थात् करिब १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ बराबरको ‘लाइन अफ क्रेडिट’ उपलब्ध गराइने उल्लेख छ । यसअनुसार घोषित सहयोगको ठूलो हिस्सा अनुदान नभई ऋणमा आधारित छ ।
परियोजना पहिचान र तयारी मुख्य चुनौती
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा. प्रकाशकुमार श्रेष्ठले भारतको घोषणालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् । उनका अनुसार घोषित सहयोग रकम नेपालको एक वर्षको पुँजीगत खर्चको करिब ६० देखि ७० प्रतिशत बराबर हुन सक्छ ।
श्रेष्ठले प्रतिबद्धताअनुसार सहयोग कार्यान्वयन हुने विषयमा भने आशंका व्यक्त गरेका छन् ।
‘सम्झौताअनुसार भारतले नेपाललाई उपलब्ध गराउने भनिएको २ खर्ब ४० अर्ब रुपैयाँको आर्थिक सहयोग निकै राम्रो घोषणा हो । यो सहयोग एक वर्षको पुँजीगत खर्चको ६०–७० प्रतिशत बराबरको हो । बरु प्रतिबद्धताअनुसार घोषणा कार्यान्वयन हुने हो कि होइन भन्ने शंका छ,’ उनले भने ।
उनका अनुसार सहयोगका क्षेत्र उल्लेख गरिए पनि कुन आयोजना वा परियोजनामा रकम परिचालन गर्ने भन्ने विषय स्पष्ट हुन आवश्यक छ । त्यसका लागि नेपालले प्राथमिकताका आधारमा परियोजना पहिचान, सम्भाव्यता अध्ययन र आवश्यक प्रस्ताव तयार गर्नुपर्छ ।
काठमाडौं–रक्सौल रेलमार्ग, सडक पूर्वाधार तथा ऊर्जा क्षेत्रका परियोजनालाई सम्भावित सहयोगका क्षेत्रका रूपमा हेरिएको छ । तर, परियोजनाको तयारी र लगानी परिचालनका लागि नेपालले नै सक्रिय पहल गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।
‘कुन परियोजना हो, कस्तो परियोजनाका लागि हो भन्ने नेपालले पहिचान गर्ने र पहल गर्न सक्नुपर्छ । महत्त्वपूर्ण पक्ष नेपालले त्यसलाई कसरी उपयोग गर्न सक्छ भन्ने हो । परियोजनाको तयारी, प्रस्ताव र लगानी भित्र्याउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा नेपालले राम्रोसँग ख्याल गर्नुपर्छ,’ उनले भने ।
उनका अनुसार घोषणालाई वास्तविक आर्थिक उपलब्धिमा परिणत गर्न सरकारी तयारीसँगै कूटनीतिक तहमा निरन्तर पहल आवश्यक छ । सहयोगबाट प्राप्त स्रोतलाई उत्पादन वृद्धि, रोजगारी सिर्जना र मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने परियोजनामा केन्द्रित गर्नुपर्ने उनको सुझाव छ ।
भूकम्पपछिको प्रतिबद्धता पूर्ण रूपमा उपयोग हुन सकेन
भारतले यसअघि पनि नेपालका लागि ठूलो आर्थिक सहयोगको घोषणा गरेको थियो । २०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माणका लागि भारतले १ अर्ब अमेरिकी डलर बराबरको सहयोग प्रतिबद्धता जनाएको थियो ।
त्यतिबेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले अर्थमन्त्री डा. रामशरण महतलाई भारत पठाएको थियो । महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएका थिए ।
सोही क्रममा मोदीले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका थिए । उक्त सहयोगमा अनुदान र ऋण दुवै समावेश थिए ।
त्यसमध्ये अनुदानतर्फ २५ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता गरिएको थियो । घर तथा आवास पुनर्निर्माणका लागि १० करोड, शिक्षा क्षेत्रमा ५ करोड, स्वास्थ्य क्षेत्रमा ५ करोड र सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि ५ करोड अमेरिकी डलर छुट्याइएको थियो ।
उक्त प्रतिबद्धताअन्तर्गत भारतले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रका परियोजनामा करिब ५ अर्ब रुपैयाँ बराबरको काम गरेको तथ्यांक छ । त्यस्तै, गोरखा र नुवाकोटमा करिब ५० हजार निजी आवास तथा विद्यालय निर्माण गर्ने योजनाअन्तर्गत ९२ प्रतिशत काम सम्पन्न भएको भारत सरकारले दाबी गरेको थियो ।
यद्यपि, त्यतिबेला घोषणा गरिएको कुल १ अर्ब अमेरिकी डलरमध्ये कति रकम नेपालले वास्तविक रूपमा प्राप्त गर्यो र बाँकी प्रतिबद्धताको अवस्था के रह्यो भन्ने विषय स्पष्ट रूपमा सार्वजनिक भएको देखिँदैन ।
सहयोगलाई आर्थिक प्रतिफलमा बदल्नुपर्ने
यसअघि घोषणा गरिएको सहयोग पूर्ण रूपमा परिचालन हुन नसकेको अनुभवले भारतको पछिल्लो प्रतिबद्धताको कार्यान्वयनबारे पनि प्रश्न उठाएको छ ।
भोटेकोशी बाढीजस्ता विपत्तिपछि पुनर्निर्माण र विकास पूर्वाधारमा थप लगानी आवश्यक भइरहेका बेला भारतको नयाँ घोषणालाई नेपालले अवसरका रूपमा उपयोग गर्नुपर्ने देखिन्छ ।
त्यसका लागि परियोजनाको पहिचान, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), सम्भाव्यता अध्ययन, आवश्यक सरकारी स्वीकृति र कार्यान्वयनको स्पष्ट खाका तयार गर्नुपर्ने हुन्छ । विशेषगरी ऋणमा आधारित सहयोग परिचालन गर्दा त्यसबाट प्राप्त हुने आर्थिक प्रतिफल, ऋण भुक्तानी क्षमता र दीर्घकालीन दायित्वलाई समेत ध्यान दिन आवश्यक छ ।
भारतको पछिल्लो घोषणाको सफलता प्रतिबद्धताको आकारले मात्र निर्धारण गर्ने छैन । नेपालले कति रकम प्राप्त गर्न सक्छ, त्यसलाई कुन क्षेत्रमा लगानी गर्छ र त्यसबाट कति उत्पादन, रोजगारी तथा आर्थिक प्रतिफल हासिल गर्न सक्छ भन्ने कुराले नै सहयोगको वास्तविक उपलब्धि निर्धारण गर्नेछ ।


