काठमाडौं, २४ वैशाख । काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि प्रहरीले कारबाहीलाई तीव्रता दिएको छ । पछिल्लो २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम पालना नगर्ने चालकहरूबाट २६ लाख ६० हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार, एकैदिन कुल २ हजार १५ जना सवारी चालकहरू कारबाहीमा परेका छन् । सडक अनुशासन कायम गराउन र दुर्घटना न्यूनीकरणका लागि गरिएको नियमित जाँचका क्रममा ठूलो संख्यामा चालकहरूले नियम मिचेको पाइएको हो । कारबाहीमा परेकामध्ये सबैभन्दा बढी अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १६४ जना रहेका छन् ।
त्यसैगरी, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९९ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिई जरिवाना गराएको छ । पछिल्लो समय मापसे जाँचमा कडाइ गरिए तापनि अझै धेरैले यसको बेवास्ता गरेको देखिन्छ । यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, लेन अनुशासन पालना नगर्ने १३२ जना र ट्राफिक लाइटको इशारा उल्लंघन गर्ने १३३ जना चालक कारबाहीमा परेका छन् । सडकमा जथाभावी पार्किङ गर्ने ८७ जना र तीव्र गतिमा सवारी चलाउने १३९ जनालाई पनि ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । वन-वे (एकतर्फी सडक) मा सवारी चलाउने ७९ जना र अवैध रूपमा राइड सेयरिङ गर्ने १९३ जनालाई पनि कारबाहीको दायरामा ल्याइएको छ ।
ट्राफिक प्रहरीले पछिल्लो समय सडक सुरक्षालाई मध्यनजर गर्दै सिसीटिभी क्यामेरा र राडर गनको प्रयोग गरी निगरानी बढाएको छ । नियम उल्लंघन गर्नेलाई तत्कालै जरिवाना गर्ने र सचेतना कक्षामा सहभागी गराउने कार्यलाई पनि निरन्तरता दिइएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन र चालकहरूलाई अनुशासित बनाउन यस्ता कारबाहीलाई अझ सशक्त बनाइने महाशाखाले जनाएको छ । सडकमा हुनसक्ने सम्भावित जोखिम कम गर्न र सर्वसाधारणको यात्रा सुरक्षित बनाउन ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।


