सरकारी कम्पनीले बेच्ने चामलमा डल्लासँगै किरा, ३९ बोरा बिक्री नगर्न विभागको निर्देशन

काठमाडौँ ।  सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, विराटनगरमा गुणस्तरहीन चामल पुनः प्याक गरी बिक्री वितरण गर्न लागिएको फेला परेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले मोरङ जिल्लामा गरेको स्थलगत निरीक्षणका क्रममा यस्तो लापरबाही फेला पारेको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले उक्त खाद्य कम्पनीमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

अनुगमनका क्रममा कम्पनीको चामल भण्डारण गोदाममा चरम अस्वस्थकर वातावरण र गम्भीर त्रुटिहरू पाइएका छन् । टोलीले अनुगमन गर्दा मुसाले खाएर डल्ला परेको २५ केजी दरका ३९ बोरा चामललाई कामदारहरूले नयाँ बोरामा पुनः प्याकिङ गर्दै गरेको अवस्थामा फेला पारेको थियो । उक्त चामलमा साना–साना डल्ला (चिलिसा) परेको र ती डल्लाभित्र जैविक पदार्थ (किरा वा जीवहरू) समेत फेला परेका थिए ।

यसका साथै चामलको बोरामा ब्याच नम्बर र मूल्य उल्लेख नगरी बिक्री वितरण भइरहेको, भण्डारण कक्षको तापक्रम अत्यधिक बढी रहेको, गोदाममा सरसफाइको अभाव तथा मुसा नियन्त्रणको प्रभावकारी व्यवस्था नभएको र पूर्ण लेबल विवरणसमेत उल्लेख नगरिएको अनुगमनका क्रममा पाइएको छ ।

यस गम्भीर लापरबाहीपश्चात् अनुगमन टोलीले उत्पादन मिति २०८१ चैत १५ गते र उपभोग्य अवधि २ वर्ष रहेको उक्त २५ केजी दरका ३९ बोरा ‘स्टिम जिरा मसिनो चामल’ लाई अर्को निर्देशन नभएसम्मका लागि बिक्री वितरणमा पूर्ण रोक लगाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.बालकुमारी शर्माका अनुसार उक्त चामलको गुणस्तर परीक्षणका लागि प्रयोगशालामा नमुना सङ्कलन गरी पठाइएको छ र परीक्षणको प्रतिवेदन आएपछि थप आवश्यक कानुनी कारबाही अगाडि बढाइनेछ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री