रासायनिक मल खरिदमा चलखेलको आशङ्का : भारतभन्दा दोब्बर महँगो मूल्य तिर्दै सरकार

काठमाडौँ — एउटै उत्पादक र एउटै स्रोतबाट रासायनिक मल खरिद गर्दा पनि नेपालले भारतको तुलनामा करिब दोब्बर बढी मूल्य तिर्नुपर्ने बिचौलिया र नीतिगत कमजोरीको चक्र सतहमा आएको छ।

सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनी ‘एसएस आदित्य बिर्ला ग्लोबल ट्रेडिङ’ले नेपाल र भारत दुवै देशमा मल आपूर्तिको ठेक्का पाएको छ।

तर, उक्त कम्पनीले भारतलाई प्रतिमेट्रिक टन ५४० अमेरिकी डलरमा उपलब्ध गराएको युरिया मल नेपाललाई भने प्रतिमेट्रिक टन ९००.७५ डलरको चर्को मूल्यमा भिराउन सफल भएको छ।

स्रोत र आपूर्ति बिन्दु एउटै हुँदाहुँदै नेपालले प्रतिमेट्रिक टन ३६० डलरभन्दा बढी तिर्नुपर्ने अवस्थाप्रति कृषि सामग्री कम्पनी लिमिटेडकै अधिकारीहरूले गम्भीर प्रश्न उठाएका छन्।

‘कृत्रिम अभाव’ खडा गरेर महँगो ठेक्का स्वीकृत

कृषि सामग्री कम्पनीका एक उच्च कर्मचारीका अनुसार, यो अन्तर्राष्ट्रिय आपूर्तिकर्ता र स्थानीय बिचौलियाहरूको सुनियोजित खेल हो। नेपालमा सुरुमा पश्चिम एसिया (मध्यपूर्व) को भू-राजनीतिक द्वन्द्व र ढुवानी जोखिमलाई बहाना बनाएर अन्तर्राष्ट्रिय ठेक्का (टेन्डर) हरू जानीजानी असफल गराइन्छ। पटक–पटक टेन्डर फेल गराएर रासायनिक मलको कृत्रिम संकट पैदा गरेपछि, अन्तिममा दबाब सिर्जना गरेर महँगो दररेटको टेन्डर स्वीकृत गराउने खेल वर्षौंदेखि चल्दै आएको छ।

“नेपालमा खरिद प्रक्रियामा चरम मनपरी छ,” ती अधिकारीले आक्रोश पोखे, “अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागिरहेका बेला नेपालले चाहिँ ९००.७५ डलरको सम्झौता गर्नु नीतिगत भ्रष्टाचार र अन्तर्राष्ट्रिय गिरोहको सेटिङबाहेक केही हुन सक्दैन।”

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपाललाई घाटा

वास्तविक तथ्य के छ भने, हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य लगातार घटिरहेको छ। विश्वकै ठुलो उत्पादक चीनले गत मार्चदेखि नियन्त्रणमा राखेको युरिया निर्यातलाई फुकुवा गरेसँगै विश्व बजारमा मलको मूल्य ५० प्रतिशतसम्म घट्ने निश्चित भइसकेको छ। भौगोलिक निकटताका कारण नेपाल र भारतको पूर्वी क्षेत्रमा आपूर्ति हुने ठुलो हिस्सा चीनबाटै आउने गर्छ। अर्कोतर्फ, मध्यपूर्वको तनाव समेत मत्थर हुँदै गएकाले ढुवानी भाडा (फ्रीट चार्ज) पनि सस्तिएको छ।

यस्तो अनुकूल समयमा पनि नेपालले आदित्य बिर्ला कम्पनीसँग ३० हजार मेट्रिक टन मलका लागि २ करोड ७० लाख २२ हजार ५०० अमेरिकी डलर (करिब साढे ३ अर्ब रुपैयाँभन्दा बढी) को महँगो सम्झौता गरिसकेको छ। सो कम्पनीले वीरगन्ज, विराटनगर र भैरहवाका गोदामसम्म मल पुर्‍याउने गरी यो ठेक्का पाएको हो।

जीटुजी (G2G) सम्झौता पनि महँगो र ढिलो : धान सिजनमा किसान रित्तै हात

नेपालले बहुराष्ट्रिय कम्पनीबाट मात्र होइन, भारत सरकारसँग सिधै गरेको सरकार-देखि-सरकार (G2G) सम्झौतामा समेत महँगो मूल्य तिर्नुपरेको छ। भारत आफैँले ५४० डलरमा खरिद गरेको मल नेपाललाई भने प्रतिमेट्रिक टन ८४८ डलरमा बेचिरहेको छ।

मूल्यको विषय त एउटा पाटो भयो, अर्कोतर्फ यो मल समयमै नआउने निश्चित भएको छ। नेपालले तत्काल ८० हजार मेट्रिक टन माग गरे पनि भारतले ५० हजार मेट्रिक टन मात्र दिन राजी भयो, जसको भुक्तानी नेपालले पठाइसकेको छ।

तर, सम्झौताको सर्तअनुसार रकम प्राप्त भएको १२० दिन (४ महिना) भित्र मात्र भारतले मल आपूर्ति गर्नेछ। यसको सोझो अर्थ, भारतबाट आउने मल असोज महिना अगाडि नेपाल आइपुग्ने छैन। नेपालका किसानले असार–साउनको मुख्य धान रोप्ने सिजनमा यो मल पाउने छैनन्।

परिणामस्वरूप, एकातिर राज्यको अर्बौँ रुपैयाँ शङ्कास्पद रूपमा बढी खर्च भइरहेको छ भने अर्कोतिर नेपाली किसानहरू समयमै मल नपाएर यस वर्ष पनि छटपटाउनुपर्ने अवस्था सृजना भएको छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई