त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका सबै संरचना हटाउन निर्देशन दिएको छ । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले साेमबार एक सूचना जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे ।
विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिविले सूचना उल्लेख गरेकाे छ ।
निर्देशनअनुसार शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ६० दिनभित्र विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’संयन्त्र विकास गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्रिविले सम्बन्धित क्याम्पसलाई उक्त निर्णय तत्काल कार्यान्वयन गरी प्रगति विवरण यथाशीघ्र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा पठाउन समेत निर्देशन दिएको छ ।



