समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १५ असारसम्मको प्रगति विवरण भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाएको छ ।
समितिले बुधबार असारसम्मको प्रगति विवरण मन्त्रालयलाई बुझाएको हो । जसमा एक हजार सात सय ५४ जना बचतकर्ताको दुई करोड ६३ लाख ९० हजार ८७ रुपैयाँ बचत फिर्ता गरिएको उल्लेख छ । १४१ जना बचतकर्ताको १ करोड ७९ लाख ५७ हजार ९२८ रुपैयाँको बचत मिलान गरिएको छ ।
यी दुवै गरी १ हजार ८९५ जनाको ४ करोड ४३ लाख ४८ हजार १६ रुपैयाँ बचत फिर्ता र मिलान भएको समितिले जनाएकाे छ । १५४ जना ४ करोड ३२ लाख ८२ हजार ३१० रुपैयाँ ऋणीबाट ऋण असुली गरिएको छ । यस बीचमा समितिको आन्तरिक व्यवस्थाको कार्यविधि निर्माणको मस्यौदा तयारी कार्य अन्तिम चरणमा रहेको, ऋण गणनाको लागि एकरूपता हुने सुत्र प्रयोगमा ल्याइएको, ऋण गणनाको लागि एकरूपता कायम गर्न प्रणाली विकासको कार्य भइरहेको, मिलान तथा फरफारकको लागि संयुक्त निवेदन लिने कार्य शुरु भएको प्रगति विवरणमा उल्लेख छ ।
ऋणी बचतकर्ताहरूको गुनासो उजुरी व्यवस्थापनको कार्य भइरहेको, आन्तरिक कार्यविभाजन सम्पन्न भएको, अभिलेख, बचत, ऋण रकम, लगतकट्टा गर्न कर्मचारीलाई तालिम प्रदान गरिएको, सहकारी पीडितका सरोकारवालासँग छलफल तथा अन्तर्क्रिया भइरहेको पनि कार्यालयले प्रगति विवरणमा उल्लेख गरेकाे छ ।
लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लि, नेपाल सहकारी वित्तीय संस्थालगायत सहकारीहरूसँग समस्या समाधान कार्ययोजना माग पेस भएको कार्ययोजनामा छलफल भएको जनाइएको छ । समस्याग्रस्त २३ वटा सहकारीहरूमध्ये ३ वटा सहकारीहरू राफसाफ प्रक्रिया र पुनःसंरचना–उन्मुख देखिएकोले त्यसतर्फ कारबाही आरम्भ भएको विवरणमा उल्लेख छ ।
तत्कालीन र भावी कार्ययोजनामा तनहुँ पोखरा, बाग्लुङ, बुर्तिबाङलगायत क्षेत्रमा रहेका मार्टहरूको सम्पत्ति व्यवस्थापन गरिने, विभिन्न सहकारीका सवारीसाधन नियन्त्रणमा लिने र लिलाम गर्ने, ठूला ऋणी र सञ्चालक व्यवस्थापक तथा जिम्मेवार कर्मचारीको पहिचान, कालो सूचीमा समावेशका लागि कर्जा सूचना केन्द्रमा र राहदानी रोक्का र स्थानीय सेवा प्रवाहमा नियन्त्रणसमेतका लागि तत निकायमा पत्राचारकार्यमा थप प्रभावकारिता दिने उल्लेख छ ।
सम्पर्कमा आएका सञ्चालकहरूबाट लिइएका कार्ययोजनाहरूको कार्यान्वयनमा निरन्तर अनुगमन गर्ने र आवधिक रूपमा कार्यप्रगति पेस गर्न लगाउने प्रगति विवरणमा उल्लेख छ । विदेशमा रहेका ऋणीहरूसँग ह्वाट्स एपमार्फत सम्पर्क र ताकेता गरिरहेको पनि प्रगति विवरणमा उल्लेख गरिएकाे छ ।



