काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला सङ्ग्रौलाले पार्टीभित्र परिवारवाद र नातावादको छायाँ देखिन थालेको भन्दै आफ्नो पार्टीको ध्यानाकर्षण गराएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले रास्वपाले परिवारवाद र नातावादलाई विधानमै निषेध गरेको निर्णय नेपाली राजनीतिका लागि एउटा सकारात्मक सुरुवात भए पनि व्यवहारमा त्यस्तो नदेखिएको संकेत गरेकी हुन् ।
बेलाबेलामा सञ्चारमाध्यममा रास्वपाका नेताका दाजु, बहिनी वा आफन्तहरू विभिन्न जिम्मेवारीमा आएको भन्ने समाचार सार्वजनिक हुने गरेको उल्लेख गर्दै उनले यसबाट जनतामा स्वाभाविक रूपमा प्रश्न उठेको बताएकी छन् ।
सांसद सङ्ग्रौलाले यदि परिवर्तनलाई व्यवहारमै प्रमाणित गर्ने हो भने कुनै पनि पद, जिम्मेवारी वा अवसर व्यक्तिको क्षमता, इमानदारी र योगदानका आधारमा तय हुनुपर्ने स्पष्ट पारेकी छन् । पारिवारिक सम्बन्धका आधारमा कसैले पनि जिम्मेवारी पाउन नहुने उनको तर्क छ । उनले रास्वपाले आफ्नो विधानको मर्मलाई अझ कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।
उनले आफ्नो पोस्टमा लेखेकी छन्, ‘परिवर्तनको वास्तविक मापन भाषणले होइन, व्यवहारले हुन्छ । परिवारवादको सानो छायाँसमेत देखिन नदिने राजनीतिक संस्कार नै नयाँ राजनीतिको सबैभन्दा बलियो उदाहरण हो । यो उदाहरणमा रास्वपा खरो उत्रनै पर्छ !’ रास्वपाले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहक दाबी गरिरहँदा आफ्नै सांसदबाट आएको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


