काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल (आजियाटा) ले नेपाली उपभोक्ताबाट अस्वाभाविक शुल्क असुलेर विश्वका अन्य स्थापित टेलिकम कम्पनीको तुलनामा अत्यधिक नाफा कमाइरहेको तथ्य सरकारी प्रतिवेदनले उजागर गरेको छ। पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित उच्चस्तरीय अध्ययन तथा छानविन समितिले बुझाएको प्रतिवेदन अनुसार, एनसेलको नाफा कमाउने दर विश्व बजारकै तुलनामा अत्यधिक र शंकास्पद देखिएको हो।
मन्त्रिपरिषद्को निर्णय बमोजिम गठित उक्त उच्चस्तरीय समितिले एनसेलको वित्तीय अवस्था र विवादित सेयर खरिद-बिक्रीको गहिरो अध्ययन गरेको थियो। प्रतिवेदनले एनसेलको नाफा दर भारतको भोडाफोनको तुलनामा ४.२४ गुणा, ब्रिटिस टेलिकमको तुलनामा १.८१ गुणा र मलेसिया टेलिकमको तुलनामा १.९७ गुणा बढी (औसत ६.९० गुणा) रहेको निष्कर्ष निकालेको छ। आजियाटाले लगानी गरेका अन्य मुलुकहरू इन्डोनेसिया, बंगलादेश र श्रीलंकाको तुलनामा समेत नेपालबाट सबैभन्दा बढी खुद मुनाफा आर्जन गरेको देखिएको छ। यस तथ्यले ‘नेपालमा व्यावसायिक वातावरण अनुकूल नभएको’ भन्दै बाहिरिने आजियाटाको दाबी झुटो सावित गरिदिएको छ।
नाम मात्रको लगानी, खर्बौंको धन विदेश पलायन
छानविन समितिका अनुसार एनसेलले नेपालमा व्यवसाय सुरु गरेदेखि प्रविधिको नाममा अत्यन्तै न्यून पुँजी मात्र भित्र्याएको छ। कम्पनीमा जम्मा ८ करोड रुपैयाँ विदेशी र २ करोड रुपैयाँ स्वदेशी गरी कुल १० करोड रुपैयाँ मात्र प्रारम्भिक लगानी भएको देखिन्छ। तर, यही सीमित लगानीको जगमा कम्पनीले नेपाली उपभोक्ताबाट १ खर्ब १३ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
त्यसमध्ये ९३ अर्ब ५० करोड लाभांश घोषणा गरी ६६ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लाभांशका रूपमा विदेश पुर्याइसकिएको छ। अन्य विभिन्न शीर्षक बनाएर थप २ अर्ब रुपैयाँ बाहिरिएको छ भने स्वदेशी सेयरधनीले १९ अर्ब ९५ करोड रुपैयाँ प्राप्त गरेका छन्।
८५ अर्बको कर विवाद र संदेहास्पद सेयर खरिद-बिक्री
नेपालबाट खर्बौं रुपैयाँ विदेश पुर्याए पनि एनसेलले राज्यलाई तिर्नुपर्ने कर र गैरकर गरी ८५ अर्ब रुपैयाँभन्दा बढीको दायित्व पन्छाउँदै आएको छ। राजस्व प्रशासनसँगको यो विवाद हाल विभिन्न अदालत र अन्तर्राष्ट्रिय मध्यस्थता (Aribitration) सम्म पुर्याएर राज्यलाई अल्झाउने रणनीति एनसेलले लिएको समितिको ठहर छ।
त्यस्तै, वार्षिक अर्बौं मुनाफा गरिरहेको र अनुमतिपत्र (लाइसेन्स) को अवधि बाँकी छँदै आजियाटाले आफ्नो ८० प्रतिशत सेयर जम्मा ४० करोड अमेरिकी डलर (करिब ५३ अर्ब रुपैयाँ) मा बिक्री गरेको नाटक र सम्झौता अपारदर्शी एवं अविश्वसनीय रहेको प्रतिवेदनमा उल्लेख छ। खरिदकर्ता भनिएका गैरआवासीय नेपाली सतिशलाल आचार्यले प्रस्तुत गरेका विवरणहरू कम्पनीको वास्तविक वित्तीय अवस्थासँग मेल नखाएको समितिले जनाएको छ।
लगानीकर्ता र व्यवस्थापकविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा चल्ने
कर छली, अपारदर्शी सेयर कारोबार र अवैध रूपमा धन विदेश लगेको अभियोगमा एनसेलका मुख्य लगानीकर्ताहरू (सतिशलाल आचार्य, सचिनलाल आचार्य, भावना सिंह) तथा उच्च व्यवस्थापकहरू विरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा चलाइने भएको छ। पब्लिक लिमिटेड बनाउने बहानामा एनसेलकै ७ जना कर्मचारीलाई ११ कित्ता सेयर दिएर गरिएको प्रपञ्च समेत छानविनको दायरामा छ।
वर्तमान सरकारले शासकीय सुधारसम्बन्धी कार्यसूची अन्तर्गत यस प्रतिवेदनको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल राष्ट्र बैंकले यस प्रकरणमा तीव्र अनुसन्धान गरिरहेका छन्। सिआइबीका अनुसार सेयर खरिद-बिक्रीका बेला सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व सम्हालेका तत्कालीन पदाधिकारीहरूमाथि समेत चाँडै नै अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ।


