दलाइ लामाको जन्मदिन काठमाडौँमा मनाइनु चिन्ताजनक : चीनका लागि पूर्वराजदूत

काठमाडौं‌ । नागार्जुनस्थित नामग्याल विद्यालयमा १४औं दलाइ लामाको ९१औं जन्मदिन मनाइएको तथा उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेकोप्रति चीनका लागि पूर्वनेपाली राजदूतहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले नेपाल सरकारले अवलम्बन गर्दै आएको एक चीन नीतिप्रतिको प्रतिबद्धता दृढतापूर्वक पालना गर्न सरकारलाई आग्रह गरेका छन्।

राजेश्वर आचार्य, महेश मास्के, महेन्द्र पाण्डे, लीलामणि पौडेल, टंक कार्की, विष्णु पुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीसहितका पूर्वराजदूतहरूले शुक्रबार बिहान संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपालले सधैं एक चीन नीति अवलम्बन गर्दै आएको र नेपालको भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याउँदै आएको स्मरण गराएका छन् ।

उनीहरूले हालै परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा समेत यही प्रतिबद्धता पुनः दोहोर्याइएको उल्लेख गर्दै उक्त कार्यक्रम सरकारको सहमतिमा भएको हो भने त्यसले नेपालले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना भएदेखि निरन्तर पालना गर्दै आएको एक चीन नीतिविपरीत सन्देश जाने बताएका छन्।

वक्तव्यमा प्रश्न उठाइएको छ, ‘नेपालले सधैं दृढतापूर्वक एक चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने तथा गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको, र परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन भ्रमणमा समेत दोहोर्याइएको त्यो प्रतिबद्धतामा परिवर्तन आएको हो? के हामीले छिमेकसँगको परराष्ट्र नीति बदलेका हौं ?’

पूर्वराजदूतहरूले यस्ता गतिविधिले नेपालले अवलम्बन गर्दै आएको भूराजनैतिक सन्तुलनमा प्रतिकूल असर पार्न सक्ने तथा देशको स्थायित्व, विकास र स्वतन्त्रताका लागि प्रत्युत्पादक हुन सक्ने चेतावनी दिएका छन्।

वक्तव्यमा भनिएको छ, ‘यस्तो गतिविधि हाम्रो देशको स्थायित्व, विकास र स्वतन्त्रताको लागि प्रत्युत्पादक हुने भएको हुँदा हामी नेपाल सरकार लगायत सबै सरोकारवालालाई सतर्क र सचेत रहन अपिल गर्दछौं। साथै भविष्यमा यस्ता गतिविधिहरू नदोहोरिने सुनिश्चितता प्रदान गर्न र छिमेकीसँगको सम्बन्धमा संवेदनशील हुन नेपाल सरकारको ध्यानाकर्षण गर्दछौं।’

पूर्वराजदूतहरूले सरकारले आफ्नो परराष्ट्रनीतिको घोषित प्रतिबद्धतालाई दृढतापूर्वक कार्यान्वयन गर्दै नेपाल–चीन सम्बन्धमा संवेदनशील विषयमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौँ । प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको छ । सभाको आजको बैठकमा

रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै स्थानीयले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को पुतला दहन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासी समस्याका विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिएका