काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकपटक खानेपानीको अभाव गहिरिएको छ। उपत्यकाको प्रमुख खानेपानी स्रोतका रूपमा रहेको मेलम्ची खानेपानी आयोजना मनसुनका कारण अस्थायी रूपमा बन्द भएपछि हजारौं घरधुरीमा नियमित पानी आपूर्ति प्रभावित भएको हो। धारामा पानी नआएपछि उपभोक्ता निजी ट्यांकरको भर पर्न बाध्य भएका छन् भने ट्यांकर सञ्चालकले अत्यधिक शुल्क असुलेको गुनासो पनि बढ्न थालेको छ।
मेलम्ची खानेपानी विकास समितिले असार १९ गतेदेखि काठमाडौंतर्फ पानी आपूर्ति स्थगित गरेको हो। मनसुन सक्रिय भएसँगै मेलम्ची नदीको माथिल्लो क्षेत्रमा आएको बाढी, पहिरो, गेग्रान र लेदोका कारण अस्थायी ड्याम तथा सुरुङ प्रणालीमा क्षति पुग्ने जोखिम बढेपछि आयोजना केही समयका लागि बन्द गरिएको समितिले जनाएको छ। हरेक वर्ष मनसुनको समयमा यस्तै जोखिमका कारण मेलम्चीको पानी अस्थायी रूपमा रोक्ने अभ्यास रहँदै आएको छ।
मेलम्ची सञ्चालनमा हुँदा दैनिक १७ करोड लिटरभन्दा बढी पानी काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको थियो। यही पानीले उपत्यकाको खानेपानी आपूर्तिमा उल्लेख्य राहत दिएको थियो। आयोजना बन्द भएसँगै अहिले वैकल्पिक स्रोतबाट मात्रै पानी वितरण भइरहेको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार उपत्यकामा दैनिक करिब ४५ करोड लिटर खानेपानीको माग रहेको छ। तर हाल विभिन्न स्रोतबाट जम्मा २२ करोड लिटर मात्रै पानी उपलब्ध भइरहेको छ। यसले दैनिक करिब २३ करोड लिटर खानेपानी अभाव रहेको देखाएको छ।
केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मेलम्ची बन्द भएपछि हाल उपलब्ध स्रोतबाट मात्रै पानी वितरण भइरहेको छ। बागमती स्रोत सञ्चालनमा ल्याउने तयारी भइरहेको र भूमिगत पानी (ग्राउन्ड वाटर) को उपयोग बढाएर अभाव कम गर्ने प्रयास भइरहेको उनले बताए।
उनका अनुसार केही समयसम्म उपभोक्ताले अहिलेको जस्तै समस्या झेल्नुपर्ने अवस्था रहनेछ।
हाल केयुकेएलले बीडीएस (Bulk Distribution System) प्रणालीमार्फत खानेपानी वितरण गरिरहेको छ। यस प्रणालीअन्तर्गत सुन्दरीजलमा प्रशोधन गरिएको पानी ठूला ट्रान्समिसन पाइपमार्फत विभिन्न सेवा जलाशयसम्म पुर्याएर वितरण केन्द्रमार्फत उपभोक्ताका धारासम्म पठाइन्छ। तर मेलम्ची बन्द भएपछि यस प्रणालीबाट हुने वितरण पनि प्रभावित भएको छ। सुन्दरीजलबाट मात्रै पाइपलाइन भर्न समय लाग्ने भएकाले नियमित वितरण तालिका प्रभावित भएको केयुकेएलले जनाएको छ।
खानेपानी अभावसँगै निजी ट्यांकरको माग उल्लेख्य रूपमा बढेको छ। उपभोक्ताका अनुसार मेलम्ची सञ्चालनमा हुँदा घटेको ट्यांकर व्यवसाय अहिले पुनः बढेको छ। कतिपय क्षेत्रमा माग बढेको अवसर पारेर ट्यांकर सञ्चालकले मनपरी शुल्क लिने गरेको गुनासो पनि आएको छ। सामान्य अवस्थामा ५ हजारदेखि १० हजार लिटर क्षमताका ट्यांकरको शुल्क क्षेत्रअनुसार फरक हुने भए पनि संकटका बेला मूल्य अझै बढ्ने गरेको उपभोक्ताको भनाइ छ।
खानेपानी विज्ञहरूका अनुसार काठमाडौं उपत्यकाको दीर्घकालीन खानेपानी संकटको प्रमुख कारण तीव्र जनसंख्या वृद्धि, भूमिगत पानीमाथिको अत्यधिक निर्भरता, पुरानो वितरण प्रणालीबाट हुने चुहावट तथा सतही स्रोतको सीमितता हुन्। केयुकेएलकै तथ्यांकअनुसार वितरण प्रणालीमा करिब ३० प्रतिशतसम्म पानी चुहावट हुने अनुमान छ, जसका कारण उपलब्ध पानीको ठूलो हिस्सा उपभोक्तासम्म पुग्नुअघि नै खेर जाने गरेको छ।
हाल काठमाडौं उपत्यकामा ८ लाखभन्दा बढी धारा जडान रहेका छन्। तर अधिकांश उपभोक्ताले दैनिक पानी पाउने अवस्था छैन। धेरै क्षेत्रमा सातामा एक वा दुई पटक मात्रै पानी वितरण हुने गरेकोमा मेलम्ची बन्द भएपछि त्यो तालिका समेत प्रभावित भएको छ।
केयुकेएलले मनसुन सकिएपछि नदीको बहाव र पानीको गुणस्तर सामान्य बनेसँगै मेलम्ची आयोजना पुनः सञ्चालनमा ल्याइने जनाएको छ।


