दक्षिण एसियामा ऊर्जा अन्तरसम्बन्ध विस्तार गर्न ईयूको ५० लाख युरोको परियोजना सुरु

युरोपेली संघ (ईयू)ले दक्षिण एसियामा क्षेत्रीय ऊर्जा अन्तरसम्बन्ध सुदृढ गर्न ५० लाख युरो बराबरको नयाँ परियोजना सुरु गरेको छ । चार वर्षे एनर्जी कनेक्टिभिटी इन साउथ एसिया परियोजनाले बंगलादेश, भुटान, भारत, नेपाल र श्रीलंकाबीच सीमापार विद्युत् व्यापार विस्तार गर्दै स्वच्छ, भरपर्दो र किफायती विद्युत् आपूर्तिमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा ईयू, सहभागी मुलुकका सरकारी प्रतिनिधि, ऊर्जा क्षेत्रका विज्ञ, विकास साझेदार तथा लगानीकर्ताको उपस्थितिमा परियोजनाको औपचारिक शुभारम्भ गरिएको हो । परियोजना युरोपेली संघको ग्लोबल गेटवे रणनीतिअन्तर्गत वित्तपोषित रहेको तथा एक्सपर्टिज फ्रान्सले कार्यान्वयन गर्नेछ ।

युरोपेली संघका अन्तर्राष्ट्रिय साझेदारी आयुक्त जोसेफ सिकेलाले क्षेत्रीय ऊर्जा अन्तरसम्बन्धले सस्तो, स्वच्छ र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्दै दक्षिण एसियामा ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुग्ने बताए । उनले यस परियोजनाले युरोपेली संघ र दक्षिण एसियाली मुलुकबीचको साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले युरोपमा एकीकृत विद्युत् बजार निर्माणको अनुभवले ऊर्जा प्रणालीलाई थप दिगो, किफायती र लचिलो बनाएको उल्लेख गर्दै दक्षिण एसियामा पनि क्षेत्रीय सहकार्य विस्तार गर्न ईयू प्रतिबद्ध रहेको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीराज भक्त श्रेष्ठले दक्षिण एसियामा प्रशस्त नवीकरणीय ऊर्जा स्रोत र बढ्दो विद्युत् माग रहेको उल्लेख गर्दै सीमापार विद्युत् व्यापारले ऊर्जा सुरक्षा, दिगोपन र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले नेपालले यस्ता क्षेत्रीय पहललाई स्वागत गर्दै ऊर्जा सहकार्य विस्तार गर्न इच्छुक रहेको बताए ।

एक्सपर्टिज फ्रान्सका दिगो विकास विभागका निर्देशक निकोलास शेनेले परियोजनाले सहभागी देशहरूबीच ज्ञान आदान–प्रदान, क्षमता अभिवृद्धि तथा प्राविधिक सहकार्यलाई सुदृढ बनाउने बताए । उनका अनुसार युरोप र दक्षिण एसियाको अनुभव आदान–प्रदानमार्फत थप एकीकृत क्षेत्रीय विद्युत् बजार निर्माणका लागि व्यावहारिक आधार तयार गरिनेछ ।

कार्यक्रममा युरोपको ऊर्जा अन्तरसम्बन्धको अनुभव, नियामकीय व्यवस्था, क्षेत्रीय विद्युत् बजार विकास तथा सीमापार विद्युत् व्यापारका अवसरबारे प्रस्तुति दिइएको थियो । साथै, नीति तथा नियामकीय सुधार, लगानी विस्तार, नवीकरणीय ऊर्जा एकीकरण र क्षेत्रीय ऊर्जा सुरक्षाका विषयमा छलफल गरिएको थियो ।

परियोजनाले क्षेत्रीय नीति संवाद सुदृढ गर्ने, प्राविधिक अध्ययन र क्षमता विकासमा सहयोग गर्ने, लगानी आकर्षित गर्ने तथा सीमापार विद्युत् व्यापारलाई प्रवर्द्धन गर्ने दाबी गरिएको छ । यसबाट दक्षिण एसियामा नवीकरणीय ऊर्जा उपयोग बढ्नुका साथै हरितगृह ग्यास उत्सर्जन घटाउन र ऊर्जा सुरक्षा सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई