सिंगापुरको गोप्य खातादेखि ३ करोड घुससम्म : दुई भ्रष्टाचार मुद्दामा दोषी ठहरिए सुनिल पौडेल

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले एकैदिन दुई ठूला भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उनलाई दुई वर्ष कैद, १२ करोड ७५ लाख रुपैयाँ बिगो र सोही बराबर जरिवानाको फैसला भएको छ भने ३ करोड ८ लाख रुपैयाँ घुस लिएको अर्को मुद्दामा कसुर ठहर भए पनि सजाय निर्धारण हुन बाँकी छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार सुनाएको फैसलाअनुसार पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये १२ करोड ७५ लाख रुपैयाँको स्रोत खुलाउन नसकेको ठहर गरेको हो। अदालतले उनलाई सोही रकम बराबर जरिवाना गर्नुका साथै पीडित राहत कोषमा ५१ लाख रुपैयाँ जम्मा गर्न पनि आदेश दिएको छ।

सिंगापुरको खाताले खोल्यो रहस्य

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा पौडेलका इलेक्ट्रोनिक उपकरणहरू बरामद गरी फरेन्सिक परीक्षण गरेको थियो। त्यसक्रममा उनले सिंगापुरस्थित बैंक खातामार्फत विभिन्न विदेशी कम्पनीबाट रकम लिएको र अन्यत्र भुक्तानी गरेको विवरण फेला परेको थियो।

अदालतले सिंगापुरका आधिकारिक निकायबाट प्राप्त कागजात र फरेन्सिक प्रतिवेदनका आधारमा पौडेलको सिंगापुरमा बैंक खाता रहेको पुष्टि भएको निष्कर्ष निकालेको छ। अदालतका अनुसार उक्त खातामा १३ करोड ५३ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा जम्मा भएको देखिएको छ, जसलाई गैरकानुनी आर्जनको हिस्सा मानिएको छ।

यद्यपि अदालतमा बयानका क्रममा पौडेलले आफूले विदेशमा कुनै बैंक खाता नखोलेको दाबी गरेका थिए।

वैध आम्दानीभन्दा कैयौं गुणा बढी सम्पत्ति

फैसलाअनुसार सरकारी सेवामा रहँदा पौडेलले वैध रूपमा २ करोड २१ लाख रुपैयाँ मात्र आर्जन गरेका थिए। तर, उनले १४ करोड ९७ लाख रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अदालतको निष्कर्ष छ।

अख्तियारले २३ करोड ७५ लाख रुपैयाँलाई स्रोत नखुलेको सम्पत्ति दाबी गरे पनि अदालतले सबै दाबी स्वीकार गरेको छैन। सिंगापुरको खातामा देखिएको रकमलगायत प्रमाणित भएको अंशलाई मात्र गैरकानुनी सम्पत्ति मानेको हो।

आईटी ठेक्कामा विदेशी कम्पनीबाट कमिसन

अख्तियारका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा पौडेलले वर्ल्ड डिस्ट्रिब्युसन नेपाल, ओबीसीआई, म्याक्स इन्टरनेशनल र नेक्स जेन सोलुसन लगायत कम्पनीहरूलाई ठेक्का दिलाउने प्रक्रियामा संलग्न थिए।

आयोगले विदेशी आपूर्तिकर्ता कम्पनीहरूसँगको मिलेमतोमा कमिसन लिई उक्त रकम सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक (यूओबी) को खातामा जम्मा गरिएको आरोप लगाएको थियो। अदालतले विदेशी बैंक खातामा प्राप्त रकमलाई महत्वपूर्ण प्रमाण मानेको छ।

च्याटबाट खुलेको ३ करोड घुस

विशेष अदालतले पौडेललाई राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सुरक्षा सफ्टवेयर तथा नेटवर्किङ उपकरण खरिद गर्दा ३ करोड ८ लाख रुपैयाँ घुस लिएको मुद्दामा पनि दोषी ठहर गरेको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/७५ मा एफ–५ कम्पनीका नेपाल प्रतिनिधि दीपक आनन्दसँग मिलेमतो गरी लागत अनुमान तयार पारिएको थियो। त्यसपछि अस्ट्रल कम्प्युटर्स नेपाल प्रालिलाई ठेक्का दिलाएर ठेक्का सम्पन्न भएपछि १० लाख ५३ हजार अमेरिकी डलर सिंगापुर पठाइएको र त्यही रकमबाट ३ करोड ८ लाख रुपैयाँ घुस उपलब्ध गराइएको थियो।

विशेष अदालतले उक्त घुस लेनदेन पुष्टि भएको ठहर गरे पनि सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्ने भएको छ। यसका लागि अदालतले बिहीबार पेसी तोकेको छ।

घुस दिएको आरोप लागेका एफ–५ कम्पनीका नेपाल प्रतिनिधि दीपक आनन्दलाई पनि अदालतले दोषी ठहर गरेको छ।

एकैदिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसँगै सुनिल पौडेल हालैका वर्षहरूमा सबैभन्दा ठूलो भ्रष्टाचार प्रकरणमा अदालतबाट दोषी ठहर हुने उच्चपदस्थ पूर्वसरकारी अधिकारीमध्ये एक बनेका छन्।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई