१ करोड ३५ लाखको चेक बाउन्स प्रकरणले तरंग : सांसद आशिका तामाङको नाम कसरी जोडियो ?

विराटनगर । अमेरिकामा रहेकी कुष्मा बुढाथोकी र झापाका जीवन प्रसाद बास्कोटाबिचको करोडौँ रुपैयाँको लेनदेन र ठगी विवादमा सांसद आशिका तामाङको नामसमेत मुछिएको छ ।

बिरामी (क्यान्सर पीडित) बुबा डम्बरबहादुर बुढाथोकीको उपचारको बहानामा परिवारसँग नजिकिएर बास्कोटाले करोडौँ ठगी गरेको र पछि घरबाटै चेकबुक चोरेर बास्कोटा र सांसद तामाङको नाममा ‘चेक बाउन्स’ गराई ‘ब्ल्याकमेल’ गरिरहेको भन्दै पीडित परिवार प्रहरीको शरणमा पुगेको छ ।

काठमाडौँ प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरेपछि पीडित परिवारले राष्ट्रिय मानवअधिकार आयोग गुहारेको छ । पीडित कुष्मा बुढाथोकीका अनुसार प्रहरीले सोमबार जाहेरी दर्ता गर्ने आश्वासन दिएको छ ।

डेढ करोडभन्दा बढीको फर्जी चेक बाउन्स गराएर आफूहरूलाई जेल हाल्ने र अमेरिकामा रहेकी छोरीलाई ‘इन्टरपोल’ लगाएर पक्रिने धम्की आएपछि कुष्माकी आमा मिनकुमारी र बहिनी सुमना बुढाथोकी ठगी तथा किर्तेको जाहेरी लिएर प्रहरी परिसर काठमाडौँ पुगेका थिए ।

तर, प्रहरीले उनीहरूको उजुरी लिन अस्वीकार गर्‍यो । ‘हामी उजुरी लिएर जाँदा प्रहरीले उल्टो–उल्टो प्रश्न गरेर हामीलाई हतोत्साहित गर्‍यो । सांसद आशिका तामाङको समेत नाम जोडिएको र उताबाट पनि उजुरी परेको भन्दै हाम्रो जाहेरी दर्ता गर्नै मानिएन,’ कुष्माकी बहिनी सुमनाले भनिन् ।

प्रहरीले न्यायको ढोका बन्द गरेपछि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको अमेरिकामा रहेकी कुष्मा बुढाथोकीले बताइन् । मानवअधिकार आयोगले नागरिकको उजुरी दर्ता गरी छानबिन गर्न प्रहरीलाई निर्देशन दिएपछि बल्ल प्रहरी हच्किएको उनले बताइन् छ । कुष्माले भनिन्, ‘आयोगमा कुरा पुगेपछि बल्ल प्रहरीले सोमबार आएर जाहेरी दर्ता गर्नु भनेको छ । अब सोमबार मुद्दा दर्ता हुने आशामा छौँ ।’

पीडित परिवारका अनुसार घटना २०७७ सालको हो । कुष्माका बुबा डम्बर बहादुर बुढाथोकी क्यान्सरबाट सिकिस्त थिए । त्यही बेला जीवन प्रसाद बास्कोटा आफूलाई ‘नेपाल लाइफ इन्स्योरेन्स कम्पनी’ को वरिष्ठ कर्मचारी (सीईओ तहको) भन्दै परिवारको सम्पर्कमा पुगे । ‘उहाँले इन्स्योरेन्स गरिदिन्छु, बुबालाई केही तलमाथि भइहाल्यो भने ममीलाई राम्रो पैसा आउँछ भन्दै विश्वासमा पार्नुभयो,’ सुमनाले भनिन्, ‘त्यसपछि हामीबाट २५ लाख रुपैयाँ नगद लैजानुभयो ।’ सो रकम जुटाउन परिवारले आफ्नो १५ लाख रुपैयाँ बराबरको सुनसमेत बेचेको उनको भनाइ छ ।

आशिका तामाङको नाममा चेक बाउन्स भएलगत्तै दिलीप उप्रेती नाम गरेका व्यक्तिले मध्यस्थकर्ता बनेर परिवारलाई धम्क्याउन थालेको कुष्माले बताइन् ।

२०७७ पुस ७ गते डम्बरबहादुरको निधन भयो । त्यसपछि इन्स्योरेन्सको ‘पेपरवर्क’ गर्नुपर्छ भन्दै बास्कोटा उनीहरूको घरमा नियमित आउजाउ गर्न थाले । त्यही क्रममा सर्लाहीमा रहेको जग्गा बेचेर परिवारले थप ३० लाख रुपैयाँ बास्कोटालाई बुझायो । पछि कुष्मालाई सानिमा बैंकबाट सेयर धितो कर्जा लिन लगाएर स्वीकृत भएको ४२ लाखमध्ये ३० लाख ५० हजार रुपैयाँ सिधै बास्कोटाको खातामा आरटीजीएस मार्फत ट्रान्सफर गरियो । यसरी विभिन्न समयमा गरी बास्कोटाले २ करोड ८ लाख रुपैयाँ ठगेको बुढाथोकी परिवारको दाबी छ ।

कुष्मा अमेरिका गएपछि सानिमा बैंकमा रहेको उनको खाता निष्क्रिय अवस्थामा थियो, तर एकाएक इमेलमा दुई वटा चेक बाउन्स भएको सूचना आयो । पहिलो चेक जीवन प्रसाद बास्कोटाको नाममा १ करोड ८५ लाख रुपैयाँको थियो (जसमा सन् २०२६ को मिति राखिएको छ) । त्यसको केही दिनपछि सोही चेकबुकको अर्को पाना प्रयोग गरी आशिका तामाङ (हाल प्रतिनिधि सभा सदस्य)को नाममा १ करोड ३५ लाख रुपैयाँको अर्को चेक बाउन्स गराइयो, जसमा २०८३ जेठ २४ गतेको मिति राखिएको छ ।

‘त्यो खातामा कहिल्यै त्यति ठुलो कारोबार नै भएको थिएन । हाम्रो घरमा आउजाउ गर्दा बास्कोटाले नै त्यो चेकबुक चोरेका हुन्,’ कुष्माले दाबी गरिन्, ‘म अमेरिकामा भएको बेला यहाँ नेपालमा किर्ते हस्ताक्षर गरेर चेक बाउन्स गराइएछ । बास्कोटाले चोरेको त्यही चेकबुकको अर्को पाना सांसद आशिका तामाङको हातमा कसरी पुग्यो ? यो अनुसन्धानको विषय हो ।’

‘आशिका तामाङसँग मेरो कुनै चिनजान, मिलेमतो वा कनेक्सन छैन । उहाँको र मेरो विषय नितान्त फरक हो,’ बास्कोटाले भने ।

आशिका तामाङको नाममा चेक बाउन्स भएलगत्तै दिलीप उप्रेती नाम गरेका व्यक्तिले मध्यस्थकर्ता बनेर परिवारलाई धम्क्याउन थालेको कुष्माले बताइन् । ‘म आशिका तामाङको सहसचिव हुँ भन्दै उहाँ आउनुभयो । पैसा नतिरे आशिकाले सीआईबी र इन्टरपोल लगाएर अमेरिकाबाटै मलाई पक्रिन लगाउने र जिन्दगी बर्बाद पारिदिन्छिन् भनेर धम्क्याएछन्,’ उनले भनिन् ।

यता, आफूमाथि लागेका गम्भीर आरोपहरूबारे कुरा गर्दै आरोपित जीवन प्रसाद बास्कोटाले ठगी, चेक चोरी र ब्ल्याकमेलका सबै आरोप झुटो भएको दाबी गरेका छन् । ‘यो विशुद्ध व्यक्तिगत लेनदेनको कुरा हो । उहाँसँग मेरो धेरै लेनदेन भएको छ । अहिले आएर मिडियाबाजी गरे हुँदैन,’ बास्कोटाले भने, ‘बैंकले सही मिलेको छैन भनेको छैन, खातामा पैसा नभएर बाउन्स भएको हो । प्रहरीमा उहाँहरूले पनि निवेदन दिनु भएको छ । प्रहरीले पनि हेरिरहेको होला । यसबारेमा धेरै किन भन्नु ?’

यस घटनामा सांसद आशिका तामाङको नाम कसरी जोडियो भन्नेबारे सोधिएको प्रश्नमा बास्कोटाले प्रतिवाद गरे । ‘आशिका तामाङसँग मेरो कुनै चिनजान, मिलेमतो वा कनेक्सन छैन । उहाँको र मेरो विषय नितान्त फरक हो,’ बास्कोटाले भने, ‘उहाँको आशिकासँग छुट्टै कारोबार थियो होला । यो विषय उहाँहरूले नै जान्ने कुरा हो । मैले आशिकाको नाम लिएर वा मेरो पहुँच छ भनेर कसैलाई धाकधम्की दिएको छैन ।’ आफूले कुनै इन्स्युरेन्सको एजेण्ट हो भनेर पैसा नलिएको पनि उनले दाबी गरे ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री

काठमाडौं। सेयर बजारमा बुधबार सामान्य बढोत्तरी छ। अघिल्लो दिनका तुलनामा बुधबार सूचकसँगै सेयर कारोबार रकम