काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरूलाई त्रसित बनाएर वा जबरजस्ती गरेर नभई उनीहरूलाई खुसी पारेर र सहजीकरण गरेर कर उठाउन कर प्रशासकहरूलाई कडा निर्देशन दिएका छन्।
बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले कर प्रशासनलाई करदातामैत्री र पारदर्शी बनाउन यस्तो निर्देशन दिएका हुन्।
“करदाता त्रसित भएको सुन्न नपरोस्, स्वेच्छिक रूपमा दायरामा ल्याउनुस्”
सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले कर सङ्कलनका लागि जबरजस्ती गर्ने शैली तत्काल बदल्नुपर्नेमा जोड दिए। उनले बजारमा कर प्रशासनको छवि सुधारिएको र कर तिर्न कोही पनि त्रसित नभएको सन्देश प्रवाह हुनुपर्ने बताए।
“करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्। मैले बजारमा सुन्न पाऊँ— कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन्। करदाता त्रसित भएर करको दायरामा नआएको मैले सुन्न नपरोस्। कर तिर्नबाट लुकेका छन् भन्ने अवस्था कसैलाई नआओस्।”
– डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री
मिसन १६ खर्ब : स्रोत साधनको अभाव भए सरकार तयार
अर्थमन्त्रीले कर प्रशासनलाई चुस्त र प्रविधिमैत्री बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधि जस्ता जुनसुकै कुराको अभाव भए निर्धक्क भन्न आग्रह गरे। राज्यलाई लाभ दिलाउने र अब्बल काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले स्पष्ट पारे।
उनले थपे, “करदाता खुसी हुनुपर्यो। कर उठाउनेले सहजीकरण गर्नुपर्यो। राजस्वको लक्ष्य पूरा हुनुपर्यो। मिसन १६ खर्बमा आन्तरिक राजस्वको भागको लक्ष्य पूरा हुनुपर्यो।”
यस वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेको दाबी गर्दै उनले आगामी ४ आर्थिक वर्षको बजेटले सरकारले बनाउन चाहेको अर्थतन्त्रको बलियो आधार स्पष्ट देखिने बताए।
‘ग्रे लिस्ट’ को चुनौती, डिजिटल कारोबार र सम्पत्ति शुद्धीकरणमा कडाइ
मुलुकलाई वित्तीय कारबाही कार्यदल (FATF) को ‘ग्रे लिस्ट’ (खैरो सूची) बाट निकाल्न अर्थ मन्त्रालयले प्रशस्त पहल गरिरहेको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहीन ढङ्गले हेर्न निर्देशन दिए।
उनले बजेटमा ल्याइएका छुट स्किमहरूको प्रभावकारी कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि गर्न र कारोबारलाई पूर्ण रूपमा डिजिटल बनाउन विभागीय नेतृत्वलाई विशेष निर्देशन दिएका छन्।
सरुवाका लागि सोर्सफोर्स नलगाउन चेतावनी
कर्मचारीहरूको वृत्तिविकास उनीहरूले गर्ने काम र राज्यलाई पुर्याएको योगदानका आधारमा मात्र मूल्याङ्कन हुने अर्थमन्त्रीले स्पष्ट पारे। उनले आफ्नो सरुवा वा बढुवाका लागि राजनीतिक वा अन्य कुनै पनि प्रकारको सोर्सफोर्स नलगाउन कर प्रशासक र कर्मचारीहरूलाई चेतावनी समेत दिएका छन्।


