आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत ५ लाख घुससहित रंगेहात पक्राउ !

सिरहा । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई कार्यालयभित्रै रंगेहात पक्राउ गरेको हो।

कम्पनीको कर परीक्षण सहज बनाइदिने भन्दै सेवाग्राहीसँग मोटो रकम असुल गरिरहेको अवस्थामा उनी फन्दामा परेका हुन्।

‘फूल अडिट’ को डर देखाएर सुरुवातमै ५ लाख घुसको बार्गेनिङ

स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फूल अडिट) गर्ने क्रममा अधिकृत पालले घुसको प्रपञ्च रचेका थिए। उनले आफूभन्दा माथिल्लो तहका कर अधिकृत प्रकाश राईसहित अन्य कर्मचारी तथा व्यक्तिहरूलाई समेत ‘भाग मिलाउनुपर्ने’ भन्दै सुरुवातमै ५ लाख रुपैयाँ घुस मागेका थिए। घुस रकम नदिएसम्म अडिट प्रक्रिया नै अगाडि नबढाइने भन्दै कम्पनीलाई दबाबमा पारेर आवश्यक सम्पूर्ण कागजात पेस गराइएको आरोप छ।

अडिटका क्रममा कार्यालयले सुरुमा कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँसम्म दायित्व निस्कने भन्दै तर्साएको थियो। कम्पनीले प्रतिरक्षा गर्दै थप कागजात पेस गरेपछि दोस्रो चरणमा ३० देखि ३५ लाख रुपैयाँसम्म मात्र कर दायित्व थपिन सक्ने अवस्था देखिएको थियो।

१२ लाखबाट झरेर ५ लाखमा कुरो मिल्यो, बिचौलियाको समेत प्रयोग

कम्पनीलाई करको डर देखाएर कर अधिकृत पालले सुरुमा १२ लाख रुपैयाँ दिए सबै समस्या समाधान गरिदिने (सेटिङ मिलाउने) प्रस्ताव राखेका थिए। तर कम्पनीले आफ्नो आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर अन्ततः ५ लाख रुपैयाँमा कुरा मिलाइएको थियो।

घुस बुझ्ने योजनाअनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म लहान कार्यालयमै प्रतीक्षामा राखिएको थियो। साँझ ६:५६ बजे पालले फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिए। त्यसपछि पुनः सम्पर्क गर्दै सोही दिन नभई भोलिपल्ट बिहान ९ देखि १० बजेको बीचमा भेट्ने भन्दै एक बिचौलियाको मोबाइल नम्बर पठाएका थिए।

ती बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन आग्रह गरेपछि अन्ततः कुरो नमिलेर पाल आफैँले रकम कार्यालयमै ल्याउन निर्देशन दिएका थिए।

कार्यालयभित्रै अख्तियारको ‘स्ट्राइक’, थप अनुसन्धान सुरु

कार्यालयमै ५ लाख रुपैयाँ घुस बुझ्ने क्रममा ढुकेर बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत पाललाई नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पाललाई घुस रकमसहित रंगेहात पक्राउ गरिएको पुष्टि गरे।

२ करोडको कर दायित्व देखाएर लाखौँको मोलमोलाई गर्ने लहान राजस्वका अन्य कर्मचारी र माथिल्लो तहका अधिकृत प्रकाश राईको भूमिकाबारे समेत अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहार र आक्रमणका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । आन्तरिक हवाई सेवामा अग्रणी कम्पनी बुद्ध एयरले कम भिजिबिलिटीमा पनि उडान भर्न सक्ने आधुनिक

काठमाडौं — दाङको घोराही उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगर र नगदसहित तीन जनालाई पक्राउ गरेको