काठमाडौँ । आन्तरिक हवाई सेवामा अग्रणी कम्पनी बुद्ध एयरले कम भिजिबिलिटीमा पनि उडान भर्न सक्ने आधुनिक जहाज भित्राएको छ। कम्पनीले जुलाई २५ मा फ्रान्सबाट एटीआर ७२-६०० सिरिजको आधुनिक जहाज भित्राएको हो। कम्पनीले गत साउन ९ गते अर्थात् जुलाई २५ मा फ्रान्सको तुलुसबाट नेपाल ल्याएको उक्त विमान नेपालकै आन्तरिक हवाई सेवाको सबैभन्दा सुरक्षित र आधुनिक रहेको कम्पनीले दाबी गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नाइन एन -एओएस कलसाइन दिएको उक्त एटीआर ७२-६०० सिरिजको जहाजको आवश्यक प्रक्रिया पूरा गरी आगामी अगस्ट महिनादेखि नियमित उडान सुरु गर्ने बुद्ध एयरले जनाएको छ।
कम्पनीले नयाँ विमान ल्याएसँगै नेपालको आन्तरिक उड्डयनको क्षेत्रमा पहिलो पटक अत्याधुनिक ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फमेन्स-अथोराइजेसन रिक्वायर्ड) एप्रोच प्रणाली भएको जहाज आइपुगेको हो। अब यो प्रणाली भएको जहाज भित्रिएसँगै ९०० मिटर मात्रै भिजिबिलिटी भएको अवस्थामा पनि निश्चित विमानस्थलहरूमा उडान र अवतरण गर्न सकिने भएको छ।
पुरानोभन्दा नयाँ विमानमा के छ फरक सुविधा?
कलसाइन ‘नाइन एन-एओएस’ प्राप्त गरेको यो एटीआर ७२-६०० सिरिजको विमान बुद्ध एयरसँग रहेका पुराना एटीआर ४२–३२० र एटीआर ७२-५०० सिरिजका विमानहरूभन्दा प्राविधिक रूपमा धेरै उन्नत रहेको छ। यो विमान पूर्ण रूपमा ‘ग्लास ककपिट’ प्रविधिमा आधारित छ, जसका कारण परम्परागत एनालग उपकरणको स्थानमा ककपिटभित्र पूर्ण डिजिटल डिस्प्लेमार्फत पाइलटलाई सम्पूर्ण सूचना प्रदान गर्न सक्नेछ। यसमा अत्याधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट प्रणाली र उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ।
पुराना सिरिजको तुलनामा यस जहाजले कम इन्धन खपत गर्ने भएकाले यो जहाज वातावरणमैत्री समेत रहेको छ। साथै जहाजभित्रको सुधारिएको बनावटका कारण पहिलेको तुलनामा कम आवाज आउने भएकाले यात्रुलाई शान्त र आरामदायी यात्राको अनुभूति दिने कम्पनीले दाबी गरेको छ।
अब ९०० मिटरको भिजिबिलिटीमा पनि उड्न र अवतरण गर्न सक्ने
यस विमानको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको यसमा जडान गरिएको आरएनपी-एआर एप्रोच प्रणाली हो। यो भू-उपग्रह (स्याटलाइट) मा आधारित अत्याधुनिक प्रविधि हो। हाल प्रयोगमा रहेको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) प्रक्रियाअनुसार काठमाडौँ र भैरहवा विमानस्थलमा अवतरणका लागि न्यूनतम १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने गर्दथ्यो। तर नयाँ प्रविधि रहेको एटीआर ७२-६०० सिरिजको जहाज आएसँगै अब काठमाडौँ र भैरहवा विमानस्थलमा केवल ९ सय मिटर भिजिबिलिटी हुँदा पनि सुरक्षित रूपमा अवतरण गर्न सकिने भएको छ।

त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यो प्रणाली जडानका लागि कार्य गरिरहेको छ। हाल पोखरामा आईएलएस प्रक्रियाअनुसार ३१ सय मिटर भिजिबिलिटी चाहिन्छ, तर आरएनपी-एआर सिस्टम जडान भएमा २ हजार मिटर भिजिबिलिटीमा पनि सुरक्षित उडान र अवतरण सम्भव हुनेछ। यसले तुवाँलो र कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ तथा अवरोधलाई निकै कम गर्नेछ।
पुरानोभन्दा बढी सुरक्षित विमान र थपिने जहाजको योजना
प्राविधिक रूपमा हेर्दा यो विमान अघिल्ला सिरिजका जहाजभन्दा बढी सुरक्षित मानिएको छ। आधुनिक ग्लास ककपिट र डिजिटल प्रणालीले पाइलटलाई उडानका क्रममा आउने जोखिमको पूर्वानुमान गर्न र व्यवस्थापन गर्न सहज बनाउनेछ। विशेष गरी आरएनपी–एआर प्रविधिले पहाडी भू-बनोट र खराब मौसमका कारण चुनौतीपूर्ण मानिने नेपालका आन्तरिक विमानस्थलहरूमा सटीक र सुरक्षित अवतरण गर्न सक्नेछ। कम्पनीका अनुसार कम भिजिबिलिटीमा पनि सुरक्षित उडान र अवतरण गर्न सकिने भएकाले नेपालजस्तो देशको उडान सुरक्षालाई नयाँ उचाइमा पुर्याउने छ।
बुद्ध एयरको योजनाअनुसार एटीआर ७२-६०० सिरिजको आधुनिक जहाज यो पहिलो हो। कम्पनीले आगामी अगस्टदेखि सेप्टेम्बरको सुरुमा कलसाइन ‘नाइन एन-एओटी’ रहेको अर्को एटीआर ७२-६०० सिरिजकै विमान नेपाल ल्याउन लागेको छ। यति मात्र नभई, त्यसपछिका केही महिनाभित्रै यही सिरिजका थप २ विमान पनि ल्याउने योजना रहेको कम्पनीले जनाएको छ।
यससँगै बुद्ध एयरसँग हाल सञ्चालनमा रहेका एउटा एटीआर ४२-३२० र १५ वटा एटीआर ७२-5०० गरी कुल १६ मा एटीआर ७२-६०० सिरिजको जहाज थपिएसँगै १७ वटा पुगिसकेको छ। आधुनिक सिरिजको ४ वटा विमान आएपछि बुद्ध एयरसँग कुल २० वटा विमान हुनेछ।
कहाँ कहाँ उडान हुनेछ आधुनिक विमान?
हालसालै भित्राएको आधुनिक प्रविधिको नयाँ विमान हाल बुद्ध एयरले उडान भरिरहेका आन्तरिक तथा छिमेकी मुलुकका सबै गन्तव्यमा सञ्चालन गर्न सकिनेछ। कम्पनीले आन्तरिकतर्फ हाल दैनिक १ सय ४० भन्दा बढी उडान गरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतको वाराणसी र कोलकाताका क्षेत्रीयतर्फ पोखराबाट भैरहवा र नेपालगन्जसम्म उडान सेवा सञ्चालन गरिरहेको छ।
नेपालमा हाल आईएलएस सुविधा भएका विमानस्थलहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ), गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्। यद्यपि बुद्ध एयरले भित्राएको आरएनपी-एआर प्रविधि भने हाल काठमाडौँ र भैरहवामा मात्रै रहेको छ। अब यो प्रविधि भित्रिएपछि आईएलएसभन्दा पनि कम भिजिबिलिटीमा अवतरण गर्न सक्ने क्षमता राख्नेछ, तर त्यसका लागि पूर्वाधार भने निर्माण भएको हुनुपर्नेछ।


