काठमाडौं । सरकारले विभिन्न नौवटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ती विधेयक संसदमा दर्ता तथा पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धी ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी विधेयक र राहदानी ऐन, २०७६ संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ।
यस्तै, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, बालश्रम निषेध तथा नियमन सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक, मेलमिलाप सम्बन्धी ऐन, २०६८ संशोधन गर्न बनेको विधेयक तथा कर्मचारी सञ्चय कोष ऐन, २०१९ संशोधन गर्न बनेको विधेयक पनि संसदमा लैजाने निर्णय भएको प्रवक्ता पोखरेलले बताए।
यद्यपि, पछिल्लो समय चर्चामा रहेको सुनसरी घटनाबारे मन्त्रिपरिषद् बैठकमा कुनै निर्णय भएन। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यस विषयमा सञ्चारकर्मीले प्रश्न उठाए पनि प्रवक्ता पोखरेलले कुनै प्रतिक्रिया दिएनन्।
यससँगै सरकारले विधेयक अघि बढाउने निर्णय गरे पनि सुनसरी घटनाबारे भने औपचारिक धारणा सार्वजनिक नगरेको देखिएको छ।


