धनुषा — धनुषाको सबेला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको मधेस प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धनुषाले स्पष्ट पारेको छ।
उक्त घटनाबारे सामाजिक सञ्जाल तथा केही आमसञ्चार माध्यमहरूमा भ्रामक समाचार सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै मधेस प्रदेश प्रहरी प्रमुख (डिआइजी) ओमप्रसाद अधिकारी र जिल्ला प्रहरी कार्यालय धनुषाले विज्ञप्ति जारी गरी वास्तविकता सार्वजनिक गरेका हुन्। प्रहरीका अनुसार मृत भेटिएका कडेरी कुनै मन्दिरका पुजारी नभई बाहिर कामकाज गर्ने र मन्दिर परिसरमा सुत्न आउने घुमन्ते व्यक्ति हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुधन न्यौपानेले घटनाको सूक्ष्म अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको विशेष टोली घटनास्थलमा खटाइएको जानकारी दिनुभएको छ। प्रहरीले यस घटनालाई धार्मिक रूप वा कुनै धर्मसँग नजोड्न आग्रह गर्दै यो विशुद्ध आपराधिक क्रियाकलाप भएको बताएको छ।
“मृतक कडेरी मन्दिरका पुजारी हुनुहुन्न। यो आपराधिक घटना हो र यसलाई धर्मसँग जोड्न मिल्दैन। घटनामा संलग्न जो-सुकै व्यक्ति भए पनि उनीहरूलाई तत्काल पहिचान गरी कानुनको कडा दायरामा ल्याइनेछ,” जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


