काठमाडौं। नेपाल आयल निगमले काठमाडौं उपत्यकासहित देशभर एलपी ग्यासको आपूर्ति सहज रहेको र कुनै अभाव नरहेको दाबी गरिरहे पनि बजारको वास्तविक अवस्था भने त्यसको विपरीत देखिएको छ।
खुद्रा डिलरहरूमा ग्यास नपाएपछि सर्वसाधारण रित्ता सिलिण्डर बोकेर काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङ लिमिटेडको शाखा कार्यालय पुग्न बाध्य भएका छन्।
आइतबार बिहानदेखि नै टेकुमा सुगम, नेपाल, एभरेस्ट, एलपी, राजधानी र त्रिवेणीलगायत विभिन्न कम्पनीका ग्यास सिलिण्डर बोकेका सयौँ उपभोक्ता लामो लाइनमा बसेका छन्। घाम, वर्षा र हिलोको पर्वाह नगरी पालो कुरिरहेका उपभोक्ताको भीडले ग्यास वितरण प्रणाली नै दबाबमा परेको देखिन्छ।
नेशनल ट्रेडिङको टेकु शाखाले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै ग्यास बिक्री–वितरण गर्ने भएकाले सीमित समयमा ठूलो संख्यामा उपभोक्ता एकै स्थानमा जम्मा हुने गरेका छन्। कतिपय उपभोक्ता सिलिण्डरमै बसेर घण्टौँ पालो कुरिरहेका देखिन्छन्।
लाइनमा बसेकी बानेश्वरकी गीता बस्नेतले आफ्नो क्षेत्रमा ग्यास नपाएपछि टेकुसम्म आउनुपरेको बताइन्। उनका अनुसार विगत १० दिनदेखि स्थानीय डिलरमा पालो कुर्दासमेत ग्यास पाउन सकेकी छैनन्।
त्यस्तै, थापाथलीका मोहनराज श्रेष्ठले पनि दुई सातादेखि डिलरमा खोज्दा ग्यास नपाएको गुनासो गरे। उनले ग्यास अभावका कारण घरायसी कामकाज नै प्रभावित भएको बताए।
श्रेष्ठका अनुसार नेपाल आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन प्रभावकारी हुन नसक्दा यस्तो अवस्था सिर्जना भएको हुन सक्छ। “कागजमा आपूर्ति सहज भनिए पनि व्यवहारमा उपभोक्ताले घण्टौँ लाइन बस्नुपरेको छ,” उनले भने।
यस्तै समस्या धेरै उपभोक्ताले भोगिरहेका छन्। बजारमा देखिएको अवस्थाले सरकारी दाबी र उपभोक्ताको अनुभवबीच स्पष्ट अन्तर देखिएको उनीहरूको भनाइ छ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले निगमले विज्ञप्तिमार्फत ग्यास पर्याप्त रहेको दाबी गरे पनि बजारमा त्यसको प्रभाव नदेखिएको बताए। उनका अनुसार समस्या समाधानका लागि खुद्रा डिलरहरूको वास्तविक मौज्दात, कृत्रिम अभाव तथा सम्भावित कालोबजारीबारे नेपाल आयल निगम र वाणिज्य विभागले संयुक्त रूपमा प्रभावकारी बजार अनुगमन गर्न आवश्यक छ।
यता नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने बजारमा एलपी ग्यासको कुनै वास्तविक अभाव नरहेको दाबी गरे। उनका अनुसार भारतबाट ग्यास बोकेका बुलेटहरू नियमित रूपमा नेपाल भित्रिरहेका छन्, उद्योगहरूलाई पर्याप्त आपूर्ति भइरहेको छ र समग्र आपूर्तिमा समस्या छैन।
उनले केही उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न खोज्नु तथा केही डिलरले कृत्रिम अभाव सिर्जना गर्नु नै अहिलेको मुख्य समस्या भएको दाबी गर्दै अवस्था केही दिनभित्रै सामान्य हुने बताए।


