जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि मधेशमा चर्किएको धार्मिक तनाव र आन्दोलनलाई समाधान गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार र आइतबार जनकपुरधाममा संयुक्त हिन्दू मोर्चासँग लगातार वार्ता गरे। दुई दिनसम्म चलेको संवादपछि आन्दोलनरत पक्षले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने घोषणा गरेको छ भने सरकारले उठाइएका मागहरू कानुनअनुसार सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।
तर वार्तापछि सामाजिक सञ्जालमा ‘सरकारले नेपाललाई हिन्दू राष्ट्र बनाउने विषयमा सहमति गरिसकेको’ भन्ने दाबी व्यापक रूपमा फैलियो। वार्तामा संलग्न सरकारी अधिकारीहरू भने यस्तो दाबी तथ्यसँग मेल नखाने बताउँछन्।
उनीहरूका अनुसार नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने विषयमा सरकारले कुनै लिखित सहमति गरेको छैन। संयुक्त हिन्दू मोर्चाले आफ्नो मागपत्रमा उक्त विषय समेटेको भए पनि सरकारले त्यसमा हस्ताक्षर गरेको वा औपचारिक सहमति जनाएको कुनै कागजात छैन। सरकारको तर्फबाट मागहरू कानुनी प्रक्रिया र संविधानको दायराभित्र रहेर अध्ययन तथा सम्बोधन गर्ने मौखिक आश्वासन मात्र दिइएको हो।
शनिबार संयुक्त हिन्दू मोर्चाले गृहमन्त्रीसमक्ष १३ बुँदे मागपत्र बुझाएको थियो। त्यसको पहिलो बुँदामा नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अघि बढाउनुपर्ने माग उल्लेख थियो। यही मागपत्र गृहमन्त्रीले बुझेको घटनालाई आधार बनाएर सरकारले सबै बुँदामा सहमति जनाएको भन्ने व्याख्या सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो।
विवाद बढेपछि आइतबार गृहमन्त्री गुरुङले पुनः संयुक्त हिन्दू मोर्चासँग छलफल गरे। जानकी मन्दिरमा पूजाअर्चनापछि भएको वार्तामा अघिल्लो दिनको सहमतिबारे देखिएका अस्पष्टता हटाउने प्रयास गरिएको थियो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार आइतबारको वार्ता नयाँ सहमति गर्न नभई अघिल्लो दिन भएको समझदारीबारे स्पष्टता दिन केन्द्रित थियो।
उनले वार्तापछि आन्दोलनरत पक्ष सन्तुष्ट भएको र आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जानकारी दिए।
संयुक्त हिन्दू मोर्चामा आबद्ध हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले पनि केही विषय स्पष्ट पारिएको र सरकारले मागहरू सम्बोधन गर्ने आश्वासन दिएको बताए। उनका अनुसार आन्दोलनका क्रममा गोली नचलाउने प्रतिबद्धता पनि सरकारी पक्षले व्यक्त गरेको थियो।
दुई दिनसम्म किन चल्यो वार्ता?
गृहमन्त्री गुरुङ शनिबार जनकपुर पुगेर संयुक्त हिन्दू मोर्चासँग दुई चरणमा वार्तामा बसेका थिए। पहिलो चरणमा आन्दोलनरत पक्षले आफ्ना मागहरू प्रस्तुत गरेको थियो भने दोस्रो चरणमा मधेश प्रदेश सरकारका प्रतिनिधिसमेत सहभागी भएका थिए।
वार्तापछि केही सहभागीले सामाजिक सञ्जालमार्फत सरकार र आन्दोलनकारीबीच १३ बुँदे सहमति भएको दाबी गरे। त्यसपछि मोर्चाका प्रतिनिधिले हस्ताक्षर गरेको मागपत्र सार्वजनिक भयो।
तर सार्वजनिक कागजात अध्ययन गर्दा त्यो संयुक्त हिन्दू मोर्चाले सरकारलाई बुझाएको मागपत्र मात्र रहेको देखियो। त्यसमा सरकारका तर्फबाट कुनै हस्ताक्षर छैन, न त दुवै पक्षले हस्ताक्षर गरेको छुट्टै सहमति पत्र नै तयार गरिएको छ।
यही कारण सामाजिक सञ्जालमा ‘सहमति पत्र कहाँ छ?’ भन्ने प्रश्न उठेपछि आन्दोलनरत पक्षका केही कार्यकर्ताले असन्तुष्टि जनाएका थिए। त्यसपछि उत्पन्न भ्रम हटाउन आइतबार पुनः वार्ता आयोजना गरिएको थियो।
हिन्दू राष्ट्रको विषयमा किन लिखित सहमति भएन?
वार्तासँग परिचित स्रोतहरूका अनुसार नेपाललाई हिन्दू राष्ट्र बनाउने विषय संविधान, राजनीतिक सहमति र राष्ट्रिय बहससँग जोडिएको संवेदनशील विषय भएकाले सरकारले त्यसमा लिखित प्रतिबद्धता नगर्ने निष्कर्ष निकालेको थियो।
सरकारका तर्फबाट यस्तो विषयमा लिखित सहमति भए त्यसले नयाँ राजनीतिक विवाद र सडक आन्दोलन निम्त्याउन सक्ने आकलन गरिएको थियो। त्यसैले आन्दोलनरत पक्षको मागपत्र ग्रहण गर्दै संवादमार्फत परिस्थिति सहज बनाउने रणनीति अपनाइएको स्रोतको भनाइ छ।
वार्तामा सहभागी सांसद शिव यादवले पनि हिन्दू राष्ट्र कायम गर्ने विषय संयुक्त हिन्दू मोर्चाको माग मात्र भएको स्पष्ट पारे। उनका अनुसार सरकारले शान्ति–सुरक्षा कायम गर्ने, धार्मिक सद्भाव जोगाउने र कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउने विषयमा मात्र प्रतिबद्धता जनाएको हो।
मागपत्रका मुख्य बुँदा
संयुक्त हिन्दू मोर्चाले सरकारसमक्ष पेश गरेको मागपत्रमा नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सर्वदलीय छलफल सुरु गर्ने, धार्मिक कार्यक्रमका नाममा हातहतियार प्रदर्शन नियन्त्रण गर्ने, धार्मिक स्थलमा लाउडस्पिकरको प्रयोग व्यवस्थित गर्ने, धार्मिक संस्थाको अनुगमन, सामाजिक सञ्जालमार्फत धार्मिक द्वेष फैलाउनेमाथि कारबाही, आन्दोलनका क्रममा पक्राउ परेकामाथिका मुद्दाको पुनरावलोकन, घाइतेको उपचार, नागरिकताको छानबिन, धार्मिक संस्थाको वित्तीय स्रोतको अनुसन्धान, आनन्द दास प्रकरणको छानबिन तथा आन्दोलन स्थगित गर्ने लगायतका माग समावेश छन्।


