काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गत आर्थिक वर्षमा २९४ अन्तर्राष्ट्रिय उडानमार्फत ४९ हजार ४६० यात्रुलाई सेवा दिएको जनाएको छ। निगमका अनुसार सो अवधिमा टिकट बिक्रीबाट १७ अर्ब ३३ करोड १५ लाख रुपैयाँ आम्दानी भएको छ।
निगमकी प्रवक्ता तथा कर्पोरेट विभाग निर्देशक अर्चना खड्काका अनुसार अघिल्लो वर्षको तुलनामा जहाजको सिट उपयोगिता (अकुपेन्सी) दर ७५ प्रतिशतबाट बढेर ८५.४ प्रतिशत पुगेको छ।
आम्दानीतर्फ पनि सुधार भएको निगमको दाबी छ। अघिल्लो आर्थिक वर्षको असारमा भएको आम्दानीको तुलनामा यस वर्षको असारमा करिब ३२ प्रतिशत वृद्धि भएको निगमले जनाएको छ।
निगमका अनुसार नयाँ सञ्चालक समिति र व्यवस्थापन आएपछि सञ्चालन तथा व्यावसायिक कार्यसम्पादनमा सुधारका संकेत देखिन थालेका छन्। गत जेठमा सात सदस्यीय नयाँ सञ्चालक समिति नियुक्त भएको थियो भने असार ३० गते मन्त्रिपरिषद्ले महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको अधिकारसहित कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो।
तीन वर्षमा ऋणमुक्त बनाउने लक्ष्य
कार्यकारी अध्यक्ष श्रेष्ठले आगामी तीन वर्षभित्र नेपाल एयरलाइन्सलाई पूर्ण रूपमा ऋणमुक्त र आत्मनिर्भर संस्था बनाउने लक्ष्य लिएको बताएका छन्।
उनका अनुसार, उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग, खर्च नियन्त्रण र आम्दानी वृद्धि गर्ने रणनीतिअनुसार निगम अघि बढिरहेको छ।
श्रेष्ठले निगमको अन्तर्राष्ट्रिय सेवा विस्तार गर्दै युरोपसम्म उडान सञ्चालन गर्ने, संस्थालाई थप पारदर्शी, मितव्ययी र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुने फ्लाई दुबईको नियमित उडानका लागि आवश्यक ग्राउन्ड ह्यान्डलिङ सेवा तयारी पनि पूरा भएको निगमले जनाएको छ।


