भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नयाँ दर तय गर्न सञ्चालक समितिको निर्णय कुर्दै निगम

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची बढेर आएपछि नेपालमा पनि इन्धनको मूल्य वृद्धि हुने संकेत देखिएको छ।

यद्यपि, नेपाल आयल निगमले अहिलेसम्म नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन। निगमका अनुसार मूल्य समायोजनसम्बन्धी निर्णय सञ्चालक समितिबाट भएपछि मात्रै नयाँ दर लागू गरिनेछ।

नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ। यसपटक पनि आईओसीले नयाँ मूल्यसूची पठाइसकेको भए पनि मूल्यमा उल्लेखनीय परिवर्तन देखिएकाले निर्णय तत्काल सार्वजनिक गरिएको छैन।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार स्वचालित मूल्य प्रणालीअन्तर्गत प्रतिलिटर दुई रुपैयाँसम्म मूल्य समायोजन गर्ने अधिकार व्यवस्थापनलाई भए पनि त्यसभन्दा बढी मूल्य परिवर्तन गर्नुपर्ने अवस्थामा सञ्चालक समितिको स्वीकृति आवश्यक पर्छ।

उनका अनुसार यसपटक प्राप्त मूल्यसूचीमा ठूलो अन्तर देखिएकाले सञ्चालक समितिको बैठकबाट निर्णय भएपछि मात्रै नयाँ मूल्य सार्वजनिक गरिनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अध्यक्ष रहने निगमको सञ्चालक समितिमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरू सदस्य रहने व्यवस्था छ। हाल मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी समितिका अध्यक्ष छन्।

निगम स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पनि पेट्रोलियम पदार्थको मूल्य दोहोरो अंकले वृद्धि भएको छ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा पनि वृद्धि देखिएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सञ्चालक समितिको बैठक बस्न ढिलाइ भएको हो। बैठकले निर्णय गरेपछि मात्रै नयाँ मूल्य कार्यान्वयनमा आउनेछ,’ निगम स्रोतले जनाएको छ।

भारतबाट बढेको लागतका कारण नेपालमा पनि पेट्रोल, डिजेल तथा अन्य पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढ्ने सम्भावना बलियो देखिएको छ। यद्यपि, मूल्य कति बढ्ने भन्ने विषयमा निगमले सञ्चालक समितिको निर्णयपछि मात्रै औपचारिक जानकारी दिने जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री