बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ। स्थानीयले भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरी बाँध भत्काएको दाबी गरेका छन्।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब ३:३० बजे सादा पोसाक र हतियारसहित ठूलो संख्यामा भारतीय एसएसबी सुस्ता गाउँपालिका–५ स्थित थारु टोल क्षेत्रमा प्रवेश गरेका थिए। उनीहरूले त्यहाँ निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको अस्थायी बाँध भत्काएको स्थानीयको आरोप छ।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी दुई देशबीचको सीमा मानिने सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरी बाँध भत्काएको दाबी गरे।
उनका अनुसार स्थानीयले त्यसको प्रतिवाद गर्ने प्रयास गरे पनि सुरक्षाकर्मी हतियारसहित आएकाले रोक्न नसकिएको र घटनाका क्रममा विवाद भएको थियो।
स्थानीयका अनुसार यसअघि पनि गत असारमा भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा पुगेर बाँध निर्माण रोक्न दबाब दिएका कारण काम प्रभावित भएको थियो।
सीमा स्तम्भको अभाव, नारायणी नदीले धार परिवर्तन गर्दै जानु तथा सीमाक्षेत्रमा हुने हस्तक्षेपका कारण सुस्ता क्षेत्र लामो समयदेखि नेपाल–भारतबीच संवेदनशील सीमा विवादको विषय बन्दै आएको छ।
घटनापछि सम्भावित अप्रिय अवस्था रोक्न नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) को टोली पनि घटनास्थलमा परिचालन गरिएको छ।


