काठमाडौँ — छनोट हुन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने भएको छ । क्रिकेट पोर्टल क्रिकइन्फोले जनाएअनुसार एसियाली क्रिकेट परिषद् (एसीसी) ले भारत, पाकिस्तान, डिफेन्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश, थाइल्यान्ड, यूएई, मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको हो ।
यूएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्ट २८ देखि सेप्टेम्बर १३ सम्म आयोजना हुनेछ । एसियाली क्रिकेटको सर्वोच्च संस्थाबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्रिकइन्फोमा जनाइएको छ । पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नाक्भी एसीसीका पनि अध्यक्ष हुन् ।
प्रतियोगिताको लोगोसहित एसीसीले २२ जुलाईमा वुमन्स एसिया कपमा सहभागी हुने राष्ट्रलाई पत्राचार पनि गरिसकेको क्रिकइन्फोले जनाएको छ, जसमा टिमहरू २७ अगस्टसम्म यूएई पुगिसक्नुपर्ने जनाइएको छ । १७ सेप्टेम्बरदेखि भने जापानको आइची/नागोयामा एसियाली खेलकुदमा महिला क्रिकेट पनि समावेश गरिएको हुनाले टोलीहरू दुबईबाट सिधै त्यहाँ पुग्ने सम्भावना छ ।
तर एसीसीले वुमन्स एसिया कपबारे आधिकारिक रूपमा केही जनाइसकेको छैन । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि यसबारे आधिकारिक जानकारी केही पनि प्राप्त नभएको बताएका छन् । ‘अहिलेसम्मको स्थितिमा वुमन्स एसिया कपबारे हामीलाई केही थाहा छैन, नेपाल खेल्ने भनेको छ, तर हाम्रो जानकारीमा केही आएको छैन,’ सचिव खड्काले भने ।
नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माले पनि नेपालले वुमन्स एसिया कप खेल्न लागेको बारे आफूलाई केही जानकारी नभएको बताइन् । क्रिकइन्फोले जनाएअनुसार प्रतियोगिता सुरु हुन अब २३ दिन बाँकी छ । तर इन्दुका अनुसार प्रतियोगिताको तयारी पनि केही गरिएको छैन ।
ट्वान्टी–२० संरचनामा वुमन्स एसिया कप हुन लागेको यो छैटौं अवसर हो । नेपालले यसअघि सन् २०१२, २०१६ र २०२४ मा गरी तीन पटक यस प्रतियोगिता खेलिसकेको छ । २०२४ मा श्रीलंकामा भएको पछिल्लो संस्करणमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो, जुन नेपालले एसिया कपमा हात पारेको एकमात्र जित हो ।
सौजन्य: https://ekantipur.com/sports


