अर्जेन्टिनाविरुद्ध फाइनलमा गोल गरेका स्पेनका टोरेस पीएसजीतर्फ

सोमबार मात्र बार्सिलोनाले टोरेसका लागि आएको ४ करोडको सम्झौता रकम अस्वीकार गरेको क्लब स्रोतले बताएको छ ।

म्याड्रिड — बार्सिलोनाले स्पेनका विश्वकप हिरो फेरान टोरेसलाई ५ करोड युरो सम्झौता रकममा पेरिस सेन्ट जेर्मेन (पीएसजी) मा बेच्न सहमति जनाएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् । बार्सिलोना स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार २६ वर्षे फरवार्ड टोरेसको सम्झौताका लागि युरोपका दुई महारथी क्लबहरु सहमत भएका छन् ।

यस सम्बन्धमा कागजी प्रक्रिया र स्वास्थ्य परीक्षणहरु औपचारिकता मात्र बनेको समाचारहरुमा जनाइएको छ । स्पेनिस च्याम्पियन बार्सिलोनासँग टोरेसको सम्झौता सकिन एक वर्ष मात्र बाँकी छ । सोमबार मात्र बार्सिलोनाले टोरेसका लागि आएको ४ करोडको सम्झौता रकम अस्वीकार गरेको क्लब स्रोतले एएफपीलाई बताएको छ ।

टोरेसलाई सन् २०२१ मा म्यानचेस्टर सिटीले ५ करोड ५० लाखभन्दा बढी युरोमा भ्यालेन्सियाबाट किनेको थियो । २०२४ मा बार्सिलोना आएका टोरेसलाई प्रशिक्षक हान्सी फ्लिकले पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीको विकल्पमा सेन्टर फरवार्डको रुपमा प्रयोग गरिरहेको थियो । भ्यालेन्सियाको युथ सिस्टमबाट उत्पादित टोरेसले वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेर खेलको गति र परिणाममा प्रभाव पार्ने गरेका थिए ।

उनले बार्सिलोनाबाट पछिल्लो दुई सिजनमा ९४ खेलमा ४० गोल गरेका थिए । विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरी उनले विजयी गोल गरे ।

लेवान्डोवस्की र मार्कुस रासफोर्डले पनि बार्सिलोना छाडिसकेका छन् । रासफोर्ड एक वर्षका लागि मात्र लोनमा आएका थिए ।

बार्सिलोनाले यसअघि नै इंग्ल्यान्डका एन्थोनी गोर्डनलाई न्युक्यासल युनाइटेडबाट र करिम एडेयेमीलाई बोरुसिया डर्टमुन्डबाट लिइसकेको छ ।

सौजन्य- www.ekantipur.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई