नुवाकोट र रसुवामा टेलिकमका सात टावर तथा एनसेलका २५ साइट प्रभावित भएपछि नागरिकलाई सम्पर्कमा राख्न सुविधा ल्याइएको हो।
काठमाडौँ — बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई नेपाल टेलिकम र एनसेल दुवैले निशुल्क कल, डेटा तथा एसएमएस उपलब्ध गराउने भएका छन् । बाढीका कारण सञ्चार सेवा अवरुद्ध हुन नदिन तथा प्रभावित क्षेत्रका नागरिकलाई राहत पुर्याउन यो सुविधा ल्याएको जनाएका छन् ।
नेपाल टेलिकमले दुई दिनका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डेटा र ५० वटा एसएमएस सेवा उपलब्ध गराउने जनाएको छ । वर्षा र बाढीका कारण नुवाकोटमा ५ वटा र रसुवामा २ वटा गरी कुल ७ वटा टेलिकम टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको टेलिकमले जनाएको छ । गल्छीदेखि रसुवा बोर्डरसम्मको फाइबर लिंकमा समेत क्षति पुगेको छ ।
एनसेलले पनि प्रभावित क्षेत्रमा तीन दिनका लागि डेटा, कल निशुल्क गराएको जनाएको छ भने १ सयवटा एसएमएस निशुल्क हुने जनाएको छ । एनसेलका २५ वटा साइट प्रभावित भएका छन् ।
सौजन्य-www.ekantipur.com


