प्रदेश सरकारले बाढी प्रभावितको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र समन्वय गर्ने शुक्रबार निर्णय गरेको हो ।
पोखरा — गण्डकी प्रदेश सरकारले रसुवासहित विभिन्न जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले विपद् प्रभावितको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र समन्वय गर्ने शुक्रबार निर्णय गरेको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपिल जारी गरी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारको तर्फबाट सहयोग रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् ।
रसुवामा आएको बाढीबाट गण्डकीका विभिन्न जिल्लाका साथै धार्मिक तथा अन्य यात्राका क्रममा त्यहाँ पुगेका स्वदेशी तथा विदेशी नागरिकसमेत प्रभावित भएको प्रदेश सरकारले जनाएको छ । केही नागरिक परिवार तथा आफन्तको सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको भन्दै प्रदेश सरकारले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी अपिलमा दिइएको छ ।
धार्मिक यात्राका क्रममा रसुवा पुगेका केही नागरिक सम्पर्कविहीन रहेको खबरले थप चिन्ता उत्पन्न भएको मुख्यमन्त्री पाण्डेले बताएका छन् । सम्पर्कविहीन नागरिकको खोजी, भेटिएका शवको उचित व्यवस्थापन तथा उद्धार कार्यलाई तीव्र बनाउन प्रदेश सरकारले आफ्नो तर्फबाट समन्वय गरिरहेको उनले बताए ।
जोखिममा रहेका नागरिकको उद्धार, घाइतेको उपचार तथा प्रभावित र आश्रयविहीनका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालित हुन मुख्यमन्त्री पाण्डेले आग्रह गरेका छन् ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपुरलगायतका क्षेत्रमा आएको बाढी कुनै एक जिल्ला वा क्षेत्रको मात्र पीडा नभई सम्पूर्ण नेपालीको साझा चुनौती भएको उनले बताएका छन् । विपद्का बेला पीडितको साथमा उभिनु र प्रभावित परिवारलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको उनको भनाइ छ ।
गण्डकी सरकारले प्रदेशका उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई राहत तथा सहयोगका काममा सक्रिय सहभागिता जनाउनसमेत अपिल गरेको छ ।
यसैबीच, विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचार नगर्न प्रदेश सरकारले आग्रह गरेको छ । आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनामात्र सम्प्रेषण गर्न आग्रह गर्दै मुख्यमन्त्री पाण्डेले सम्पर्कविहीन आफन्तका विषयमा स्वाभाविक रूपमा चिन्ता भए पनि अहिले संयम, धैर्य र आपसी सहयोग आवश्यक रहेको बताएका छन् ।
उनले बाढी प्रभावितको शीघ्र उद्धार, सम्पर्कविहीनको सफल खोजी, घाइतेको प्रभावकारी उपचार तथा थप मानवीय क्षति हुन नदिनुलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।
सौजन्य- www.ekantipur.com


