काठमाडौं । यो महिना नेपालले गाडी हेर्दै बितायो । अब अर्को हप्ता गाडी किनेपछि त्यससँग जोडिने सम्पूर्ण पक्ष पनि एकै ठाउँमा हेर्न पाइने भएको छ ।
भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ करिब ३ लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुँदैछ । दुई सयभन्दा बढी स्टल रहने प्रदर्शनीमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन् ।
तर अटो शोमा सवारी ब्रान्डको मात्र बाहुल्यता भने छैन । प्रदर्शनीमा सहभागी करिब ७० कम्पनीले उपभोक्ताले चलाएर लैजाने सवारीसाधन बिक्री गर्दैनन् । उनीहरूले गाडीलाई वर्षौंसम्म सडकमा गुडाउन आवश्यक पर्ने टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र ईभी चार्जिङ उपकरण उपलब्ध गराउनेछन् ।
त्यस्तै, करिब १० वटा बैंक, वित्तीय संस्था र बीमा कम्पनी पनि अटो शोमा सहभागी हुनेछन् । उनीहरूले अटो लोन, सवारी बीमा तथा विद्युतीय सवारीका लागि छुट्टै वित्तीय योजनासहितका सेवा प्रदर्शनीमा प्रस्तुत गर्नेछन् ।
अटोमोबाइल उद्योगको यही हिस्सा नेपाली उपभोक्तासँग गाडी खरिद गरेपछि लामो समयसम्म जोडिन्छ । तर, यही क्षेत्रलाई एउटै छानामुनि हेर्ने अवसर भने उपभोक्ताले कमै पाउने गरेका छन् ।
गाडी छान्न उपभोक्तालाई केही हप्ता लाग्न सक्छ । तर, छानिएको गाडीसँगको सम्बन्ध त्यसपछि वर्षौंसम्म कायम रहन्छ । गाडी किन्नुअघि समय सोरुममा बिते पनि त्यसपछिका वर्षहरू वर्कसप, बैंक, बीमा कार्यालय, टायर पसल र स्पेयर पार्ट्स पसलमा बित्छन् ।
यही पक्षलाई ध्यानमा राख्दै यसपटकको अटो शोमा प्रदर्शनी क्षेत्रलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणलगायत छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ । यसले उपभोक्तालाई गाडी खरिद गर्ने निर्णयसँगै त्यसपछि आवश्यक पर्ने सेवा तथा उपकरणबारे पनि एउटै भ्रमणमा जानकारी लिन सहज बनाउने आयोजकको अपेक्षा छ ।
अटो शोमा सहभागी सवारी ब्रान्डको भौगोलिक विविधता पनि उल्लेखनीय छ । युरोपेली इन्जिनियरिङको प्रतिनिधित्व गर्ने स्कोडादेखि मलेसियाको राष्ट्रिय ब्रान्ड प्रोटोनसम्म तथा चिनियाँ निर्माता चेरीका ओमोडा र जेकु ब्रान्डदेखि जीडब्ल्यूएमसम्मका सवारीसाधन प्रदर्शनीमा रहनेछन् ।
जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ मूलका सवारी ब्रान्डहरू एउटै प्रदर्शनी स्थलमा एकअर्काबाट केही पाइला टाढा रहनेछन् । यसले नेपाली बजारमा उपलब्ध सवारीसाधनको बढ्दो विविधतालाई समेत देखाउनेछ ।
विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीलाई प्रवर्द्धन गर्न ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियनसमेत छुट्याइएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार अटो शोको अर्थ केवल नयाँ गाडी प्रदर्शन गर्नु मात्र होइन ।
“अटो शो भन्नेबित्तिकै गाडीले भरिएको हल भन्ने लाग्छ । तर हाम्रो प्रदर्शनीको ठूलो हिस्सा त ती गाडी वर्षौंसम्म चलाइराख्ने उद्योगले ओगटेको छ । त्यो उद्योग पनि देखिनुपर्छ ।”
पाँच दशकअघि नेपालको अटोमोबाइल उद्योगको प्रदर्शनी एउटा कोठामै सीमित हुने गरेको थियो । अहिले त्यही उद्योगलाई करिब ३ लाख वर्गफिट क्षेत्रफल आवश्यक पर्ने अवस्थामा पुगेको छ ।
यो विस्तार केवल सडकमा गाडीको संख्या बढेकै कारण भएको होइन, गाडी बिक्रीदेखि पार्ट्स, मर्मतसम्भार, वित्तीय सेवा, बीमा, चार्जिङ पूर्वाधार र अन्य सहायक क्षेत्रमा विस्तार भएको सम्पूर्ण अटोमोबाइल उद्योगकै आकार बढेको संकेत हो ।
सौजन्य- www.corporateangle.com


