भोटेकोशी बाढीको असर : बंगलादेशको विद्युत् निर्यात रोकियो, भारततर्फको निर्यात पनि कटौती

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि नेपालबाट बंगलादेशमा हुँदै आएको विद्युत् निर्यात रोकिएको छ । भारततर्फको विद्युत् निर्यात पनि घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बाढीका कारण चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा क्षति पुगेपछि ती आयोजनाबाट उत्पादन हुने करिब ४० मेगावाट विद्युत् बंगलादेश पठाउन नसकिएको हो ।

नेपालले भारत र बंगलादेशमा गरी करिब १ हजार २ सय मेगावाटसम्म विद्युत् निर्यात गर्ने अनुमति पाएको थियो । तर, रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएपछि विद्युत् उत्पादन घटेको छ । त्यसको असर भारततर्फको निर्यातमा समेत परेको प्राधिकरणले जनाएको छ ।

बाढीबाट प्राधिकरण र निजी क्षेत्रका गरी १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । सञ्चालनमा रहेका आयोजनाका साथै निर्माणाधीन आयोजनाका संरचनामा समेत क्षति पुगेको छ ।

बाढीपछि प्रभावित आयोजनामा कार्यरत धेरै श्रमिक तथा कर्मचारी सम्पर्कविहीन छन् । नेपाली र विदेशी गरी ९ सय ७४ जना कामदार तथा कर्मचारीको अवस्था अझै पत्ता लाग्न सकेको छैन । बाढी आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय र आवास क्षेत्रमा रहेका उनीहरूको अवस्था यकिन हुन सकेको छैन ।

यता, प्रभावित आयोजनामा खोज तथा उद्धारको काम जारी छ । लाङटाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहित २५ जनाको टोलीले सुरुङभित्र खोजी गरिरहेको छ । टोली सुरुङभित्र करिब १ सय ५० मिटरसम्म पुगेर दुई ठाउँमा होल बनाएर फसेका व्यक्तिको अवस्था खोजिरहेको छ ।

चिलिमे जलविद्युत् आयोजनामा पनि विदेशी प्राविधिकसहितको टोलीले खोज तथा उद्धार गरिरहेको छ ।

माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ९३ जनाको टोली उद्धारमा खटिएको छ । टोलीले एक्स्काभेटर प्रयोग गरेर सुरुङको आउटलेटमा जम्मा भएको लेदो, माटो र अन्य अवरोध हटाइरहेको छ । सुरुङभित्र जान सहज बनाउन आवश्यक ठाउँमा ब्लास्टिङ गरेर होल ठूलो बनाउने कामसमेत भइरहेको छ ।

त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेना, गैरसैनिक कर्मचारी र आयोजनाका अधिकारीसहितको टोली परिचालन गरिएको छ । टोलीले पहिरो र लेदोका कारण अवरुद्ध बाटो खुलाउने तथा माटो हटाउने काम गरिरहेको छ ।

भौगोलिक कठिनाइ, पहिरो, लेदो र सुरुङभित्र जमेको माटोका कारण खोज तथा उद्धारमा कठिनाइ भइरहेको छ । प्रभावित आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु नभएसम्म भारत र बंगलादेशतर्फको विद्युत् निर्यातमा थप असर पर्न सक्ने प्राधिकरणले जनाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको