काठमाडौँ — करण केसीको उत्कृष्ट बलिङपछि नेपालले प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । करणले ४ विकेट लिएपछि नेपालले बिहीबार घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्यो ।करणले ७.३ ओभरमा २३ रन खर्चेर उत्कृष्ट बलिङ गरेपछि क्वालालम्पुरस्थित वाईएसडी यूकेएम ओभलमा ३२.३ ओभर खेली १ सय ३ रनमै अलआउट भयो । अर्जुन कुमालले संयमित ब्याटिङ गरेपछि नेपालले २२ ओभरभित्रै १ सय ६ रन बनाएको थियो । करणले आफ्नो पहिलो दुई ओभरमा ओपनरद्वय नाजमुस सकिबलाई ३ र सैफ उल्लाहलाई ९ रनमा आउट गरेपछि मलेसिया सुरुआतदेखि दबाबमा परेको थियो । करणले अन्तिम २ विकेट लिई मलेसियाको इनिङ्सलाई सस्तैमा समेटेका थिए । करणबाहेक नेपालबाट ललित राजवंशीले २ विकेट लिए । उनले ६ ओभरमा १ मेडन राख्दै १९ रन खर्चे । त्यस्तै कप्तान सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले १–१ विकेट लिए । मलेसियाबाट कप्तान सैयद अजिजले सर्वाधिक ३० रन बनाए । उनी करणको बलमा नवौं खेलाडीको रुपमा आउट भए । अजिजले ४९ बल खेली समान २ चौका र छक्का प्रहार गरे । अकिल वाहिदले ३९ बल खेली २ चौका प्रहार गर्दै २४, वीरनदीप सिंहले २६ बल खेली २ चौका प्रहार गर्दै १४ र सयहादत रमिलले २५ बल खेली २ चौका प्रहार गरी १३ रन बनाए ।
News /photos credit:ekantipur.com


