ऋण असुलीका क्रममा ऋणीलाई यातना दिने, घरबाट सामान उठाएर लैजाने वा घरमै बसेर धरपकड गर्ने जस्ता गतिविधि गरे कारबाही हुने भएको छ। ऋण असुलीका नाममा हुने गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले ऋण असुलीका क्रममा ज्यादती गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले २०८३ भदौ १८ गते जिल्ला प्रशासन कार्यालयहरूलाई पठाएको पत्रमा ऋण असुलीका क्रममा हुने विभिन्न गैरकानुनी गतिविधिबारे उल्लेख गरिएको छ।
पत्रअनुसार ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने, गालीबेइज्जती तथा दुर्व्यवहार गर्ने जस्ता कार्य भएमा पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्नेछन्। गृह मन्त्रालयले यस्ता गतिविधि भएको उजुरी परेमा सम्बन्धित व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाउन प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र तथा मन्त्रिपरिषद्को निर्णयअनुसार भएको सहमति कार्यान्वयन गर्न यस्तो निर्देशन दिइएको हो। उनका अनुसार कुनै पनि वित्तीय संस्थाबाट ऋण असुलीका क्रममा यस्ता गैरकानुनी गतिविधि भएमा पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्नेछन्। उजुरी परेपछि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ। यससँगै ऋण असुलीका नाममा हुने यातना, जबर्जस्ती सामान उठाउने, घरमै बसेर दबाब दिने तथा गालीगलौज र दुर्व्यवहारजस्ता गतिविधिमाथि प्रशासनले निगरानी बढाउने भएको



