सन् २०२३ को प्रिमियर कप फाइनलमा नेपालले यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याउँदै कम स्कोरको रोमाञ्चक खेलमा जित निकालेको थियो । तर, शनिबारको फाइनल भने नेपालको ब्याटिङ शक्तिको उत्कृष्ट प्रदर्शनका रूपमा रह्यो ।
पहिले ब्याटिङ गरेको नेपालले एकदिवसीय क्रिकेटमा तेस्रो पटक ३०० रनको आँकडा पार गर्यो । नेपालले पहिलो ब्याटिङ गर्दै ३०० भन्दा बढी रन बनाएको खेलमा अहिलेसम्म पराजय भोगेको छैन ।
नेपालका लागि ओपनर आसिफ शेखले शानदार शतक प्रहार गरे । उनले चार छक्का र आठ चौकाको मद्दतमा १०६ बलमा १०२ रन बनाए । ३५.३ ओभरमा उनी आउट हुँदा नेपालको स्कोर १९१/३ थियो ।
आसिफलाई ओपनर अर्जुन कुमालले राम्रो साथ दिएका थिए । दुवैले पहिलो विकेटका लागि शतकीय साझेदारीको नजिक पुगेका थिए । तर, रन लिने क्रममा भएको गलत तालमेलका कारण अर्जुन ६३ बलमा ४३ रन बनाएर रनआउट भए । उनीहरूको साझेदारी ९७ रनमा टुंगिएको थियो ।
त्यसपछि आएका ईशान पाण्डेले पनि ठूलो योगदान दिन सकेनन् । उनी २० बलमा १३ रन बनाएर २६.४ ओभरमा क्याच आउट भए । आसिफ शेख आउट भएपछि यूएईले खेलमा फर्कने सम्भावना देखाएको थियो ।
तर, कप्तान रोहितकुमार पौडेल र गुल्शनकुमार झाले नेपाललाई सम्हाले । दुवैले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । पौडेल ४४ बलमा ४० रन बनाएर ४४.३ ओभरमा आउट भए ।
गुल्शनले अर्धशतक पूरा गरे । उनी ३८ बलमा चार छक्का र तीन चौकासहित ५२ रन बनाएर ४५.५ ओभरमा आउट भए । त्यतिबेला नेपालले २७३/५ रन बनाइसकेको थियो ।
त्यसपछि दीपेन्द्रसिंह ऐरीले १८ बलमा १८ रन तथा बासिर अहमदले चार बलमा १५ रनको योगदान दिएपछि नेपालले ९ विकेट गुमाएर ३१३ रनको विशाल योगफल तयार गर्यो ।
यूएईका लागि इब्रार अहमदले चार विकेट तथा खुजैमा तनवीरले दुई विकेट लिए । हैदर अली र अदीब उस्मानीले समान एक–एक विकेट लिए ।
३१४ रनको लक्ष्य पछ्याएको यूएईले सुरुवातमै महत्वपूर्ण विकेट गुमायो । अदीब उस्मानी १० बलमा ६ रन, अक्शदीप नाथ चार बलमा शून्य तथा ओपनर तानिश सुरी २८ बलमा ४२ रन बनाएर आउट भए । ८.३ ओभरमा यूएई ५६/३ को अवस्थामा पुगेको थियो ।
कप्तान हरप्रीत सिंहले यूएईको इनिङ्स सम्हाल्ने प्रयास गरे पनि ४१ बलमा ३३ रन मात्रै बनाउन सके । अयान अफजल खान १९ बलमा ९ रन बनाएर २२.२ ओभरमा आउट हुँदा यूएईका आधा ब्याटर पभेलियन फर्किसकेका थिए । त्यतिबेला यूएईलाई जितका लागि १९५ रन आवश्यक थियो ।

राहुल चोपडा र सोहैब खानले छैटौँ विकेटका लागि ८७ रनको साझेदारी गर्दै यूएईलाई खेलमा फर्काउने प्रयास गरे । सोहैब ५७ बलमा ५२ रन बनाएर आउट भए । त्यसपछि चोपडाले एक्लै खेल सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटरले लामो समय टिक्न सकेनन् ।
चोपडाले नेपाली बलरविरुद्ध मैदानका चारैतिर आक्रामक शट खेले । तर, अन्य ब्याटरले साथ दिन नसक्दा यूएई ४९.१ ओभरमा सबै विकेट गुमाएर २६९ रनमै सीमित भयो ।
अन्तिम विकेटका रूपमा वाइड बलमा हैदर स्टम्पिङ आउट भए । चोपडा भने १०५ बलमा १०० रन बनाएर नटआउट रहे । यूएई ४४ रनले पराजित भयो ।
यूएईलाई पराजित गर्दै नेपालले एसिया कपमा स्थान सुरक्षित गरेपछि बायुमास क्रिकेट ओभल नेपाली समर्थकको खुसीले गुञ्जिएको थियो । खेल हेर्न ठूलो संख्यामा नेपाली समर्थक उपस्थित थिए।
खेलका क्रममा नेपाली र यूएईका खेलाडीबीच पटक–पटक विवाद र भनाभनसमेत भएको थियो । त्यसैले एसोसिएट क्रिकेटको ‘एल क्लासिको’ का रूपमा चिनिने नेपाल–यूएईबीचको यो फाइनल थप रोमाञ्चक बनेको थियो ।
उपाधि जितेको नेपाली टोली आइतबार राति ९ः४५ बजे मलेसियन एयरलाइन्समार्फत नेपाल फर्किनेछ ।
सौजन्य- www.kathmandupost.com


