कृत्रिम बुद्धिमता (एआई)को तीव्र विकासले मानव जीवनमा नयाँ सम्भावनाको ढोका खोलिरहेका बेला यसको जोखिम नियन्त्रण गर्न विकासको गति केही सुस्त बनाउनुपर्ने बहस चर्किएको छ । अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले एआई विकासमा थप सावधानी अपनाउनुपर्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको कडा विरोध गरेका छन् । ट्रम्पले एआईमा आवश्यक नियन्त्रण वा सुरक्षा मापदण्ड (गार्डरेल्स)का लागि बलियो र बुद्धिमान राष्ट्रपतिको नेतृत्व नै पर्याप्त हुने दाबी गरेका छन् ।
एआई विकासको गति घटाउने प्रस्तावले प्रविधि उद्योग, लगानी बजार र राष्ट्रिय सुरक्षासम्बन्धी बहसलाई एकैपटक तीव्र बनाएको छ । एकातिर एआईले चिकित्सा, अनुसन्धान, उत्पादकत्व र दैनिक जीवनमा उल्लेखनीय लाभ पुर्याउन सक्ने अपेक्षा गरिएको छ भने अर्कोतिर यसको अनियन्त्रित विकासले साइबर सुरक्षा, मानव नियन्त्रण, वातावरण र शक्ति केन्द्रीकरणमा गम्भीर जोखिम निम्त्याउन सक्ने चिन्ता व्यक्त भइरहेको छ ।
ट्रम्पले भने– एआईमा जित्नेले विश्वमा जित्नेछ
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै एआई र डाटा सेन्टरविरुद्ध ‘घृणित षड्यन्त्र’ भइरहेको दाबी गरेका छन् । उनका अनुसार एआईमा आवश्यक नियन्त्रणका लागि बलियो र उच्च बौद्धिक क्षमता भएको राष्ट्रपतिको नेतृत्व पर्याप्त छ । उनले आफ्नो प्रशासनले एआई कम्पनीहरूलाई खराब वा सम्भावित रूपमा हानिकारक काम गर्नबाट रोक्न आपराधिक तथा नियामकीय अधिकार प्रयोग गरिरहेको पनि बताएका छन् ।
ट्रम्पले अमेरिकाले एआईमा चीनभन्दा धेरै अगाडि रहेको दाबी गर्दै यो अग्रता कायम राख्नुपर्ने बताएका छन् । उनका शब्दमा, ‘जसले एआईमा जित्छ, उसले जित्छ ।’ यसबाट एआईलाई उनले केवल प्रविधिको विषय नभई अमेरिकी आर्थिक, सामरिक र भूराजनीतिक शक्तिसँग जोडिएको प्रतिस्पर्धाका रूपमा हेरेको देखिन्छ ।
साम अल्टम्यान र एलन मस्कले गरे समर्थन
एन्थ्रोपिकको प्रस्तावलाई एआई उद्योगकै प्रभावशाली व्यक्तिहरूले पनि समर्थन गरेका छन् । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले एआई विकासको गति नियन्त्रण गर्नु भनेको विकास रोक्नु नभएको स्पष्ट पारेका छन् । उनका अनुसार एआईको प्रगति सम्भव भएसम्म तीव्र बनाउन सकिए पनि मानव सुरक्षाका लागि आवश्यक परीक्षण, निगरानी र अन्य उपाय अपनाउन विकासको गति केही सुस्त बनाउनुपर्छ ।
अल्टम्यानले एआईका कारण मानवताले भविष्यमा आफ्नो नियन्त्रण गुमाउने वा शक्ति केही सीमित व्यक्तिहरू तथा संस्थामा अत्यधिक केन्द्रित हुने अवस्थाबाट बच्नुपर्ने बताएका छन् । उनले एआई सधैँ मानिसको सेवामा हुनुपर्ने धारणा व्यक्त गरेका छन् । ओपनएआईले स्वतन्त्र मूल्याङ्कनकर्तालाई आफ्ना प्रणालीको परीक्षण र मूल्याङ्कनमा कर्मचारीसरह पहुँच दिने योजना अघि सारेको पनि उल्लेख गरिएको छ ।
एन्थ्रोपिकको मागलाई स्पेसएक्सका प्रमुख तथा ग्रोकका संस्थापक एलन मस्कले समेत समर्थन गरेका छन् । यसले एआईको विकासमा सुरक्षा र जिम्मेवारीसम्बन्धी प्रश्न केवल बाह्य आलोचकहरूले उठाएको नभई प्रविधि उद्योगभित्रै पनि गम्भीर बहसको विषय बनेको देखाउँछ ।
अमेरिकी सरकारको द्विविधाः सुरक्षा कि चीनसँगको प्रतिस्पर्धा ?
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एआईमा जोखिम रहेको स्वीकार गर्दै सरकारले सावधानीपूर्वक र बुद्धिमत्तापूर्ण ढङ्गले नियमन गर्नुपर्ने बताएका छन् । तर उनले चीनसँगको दीर्घकालीन एआई प्रतिस्पर्धामा अमेरिका पछि पर्न नहुनेमा जोड दिएका छन् ।
भान्सले एआई कम्पनीहरूले आफैँलाई नियमन गर्न सरकारसँग आग्रह गर्नु केही हदसम्म ‘ट्रोजन हर्स’ जस्तो हुन सक्ने आशङ्का पनि व्यक्त गरेका छन् । उनका अनुसार प्रभावकारी नियमनका लागि अमेरिकी संसद् र ह्वाइट हाउसबिच वास्तविक सहमति आवश्यक छ, ताकि त्यसले दीर्घकालीन रूपमा काम गर्न सकोस् ।
यसले अमेरिकी सरकारसामु रहेको मूल चुनौती उजागर गर्छ । एआई विकासलाई कडा रूपमा नियमन गर्दा सुरक्षा जोखिम कम हुन सक्छ, तर त्यसले अमेरिकी कम्पनीहरूको प्रतिस्पर्धात्मक गति घटाएर चीनलाई अगाडि बढ्ने अवसर दिन सक्छ भन्ने चिन्ता पनि छ । अर्कोतर्फ, सुरक्षाका उपायबिना तीव्र विकासलाई प्राथमिकता दिँदा भविष्यमा उत्पन्न हुन सक्ने क्षति अझ गम्भीर हुन सक्ने सम्भावना छ ।
चीनको दृष्टिकोण : विकाससँगै सुरक्षा
एआईसम्बन्धी विश्वव्यापी प्रतिस्पर्धामा चीन पनि सक्रिय छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले भारतमा भएको बैठकका क्रममा खुला स्रोत प्रविधि र प्रविधि साझेदारीलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले विश्वव्यापी एआई शासनसम्बन्धी सम्झौताको प्रस्तावसमेत दोहोर्याएका छन् ।
चीनका शीर्ष गुप्तचर अधिकारी चेन यीशिनले एआईलाई प्रमुख शक्तिहरूबिचको रणनीतिक प्रतिस्पर्धाको नयाँ क्षेत्रका रूपमा व्याख्या गरेका छन् । उनले एआईको विकास र सुरक्षाबिच सन्तुलन कायम गर्नुपर्ने बताउँदै विद्यमान कानुन, नियमन तथा नैतिक निर्देशिकामा सुधार आवश्यक रहेको उल्लेख गरेका छन् । जोखिमको पूर्वसूचना, आपत्कालीन प्रतिक्रिया प्रणाली र अन्तर्राष्ट्रिय सहयोगलाई पनि उनले महत्त्व दिएका छन् ।
यद्यपि अमेरिकी एआई कम्पनीहरूले विकासको गति घटाउँदा चिनियाँ कम्पनीहरूलाई अगाडि बढ्ने अवसर मिल्न सक्ने चिन्ता व्यक्त गरेका छन् । यसले एआईसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य र राष्ट्रिय प्रतिस्पर्धाबिचको तनावलाई अझ स्पष्ट बनाएको छ ।
एआईको वातावरणीय असर पनि चिन्ताको विषय
एआईको विकाससँगै डाटा सेन्टरहरूको विस्तार भइरहेको छ । एआई प्रणाली सञ्चालन गर्न ठुलो मात्रामा विद्युत् आवश्यक पर्छ भने कतिपय डाटा सेन्टरमा उपकरण चिस्याउन प्रशस्त पानीसमेत प्रयोग हुन्छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सामान्य एआई केन्द्रित डाटा सेन्टरले करिब एक लाख घरपरिवारले प्रयोग गर्ने बराबर विद्युत् खपत गर्न सक्छ । निर्माण भइरहेका ठुला डाटा सेन्टरको खपत त्यसको २० गुणासम्म हुन सक्ने उल्लेख छ ।
सन् २०२४ मा विश्वको कुल विद्युत् खपतमा डाटा सेन्टरको हिस्सा करिब १.५ प्रतिशत रहेको र सन् २०३० सम्ममा यो दोब्बर हुन सक्ने अनुमान गरिएको छ । विश्वको विद्युत् उत्पादनमा जीवाश्म इन्धनको ठुलो हिस्सा अझै कायम रहेकाले एआईका लागि डाटा सेन्टर विस्तार हुँदा छोटो अवधिमा हरितगृह ग्यास उत्सर्जन बढ्न सक्ने वातावरणीय चिन्ता छ ।
एआईले भविष्यमा जलवायु परिवर्तनका समाधान खोज्न सहयोग पुर्याउन सक्ने अपेक्षा भए पनि त्यसका लागि आवश्यक ऊर्जा र पानीको खपत आफैँमा चुनौती बनिरहेको छ । त्यसैले एआईको विकाससम्बन्धी बहसमा प्रविधि र सुरक्षा मात्र नभई वातावरणीय दिगोपनालाई पनि समेट्नुपर्ने देखिन्छ ।
एआईका लाभ र जोखिम
एआई अहिले नै क्यान्सर अनुसन्धान तथा उपचार, चिकित्सा निदान, खोज प्रणाली, मनोरञ्जन र व्यक्तिगत सेवाजस्ता क्षेत्रमा प्रयोग भइरहेको छ । बेलायत सरकारले फोक्सोको क्यान्सर छिटो पहिचान गर्न तथा मुटुसम्बन्धी रोग, स्ट्रोकलगायतका क्षेत्रमा एआई र डिजिटल प्रविधिको प्रयोग बढाउन लगानी घोषणा गरेको छ । यसबाट एआईले स्वास्थ्य सेवामा समय बचत गर्ने र उपचारको पहुँच सुधार्ने सम्भावना देखिन्छ ।
तर एआईका जोखिमलाई बेवास्ता गर्न सकिँदैन । विज्ञहरूले कुनै शत्रु राष्ट्र वा समूहले एआईको प्रयोग गरेर महत्त्वपूर्ण पूर्वाधारमा साइबर आक्रमण गरेमा ठुलो क्षति हुन सक्ने चेतावनी दिएका छन् । सैन्य क्षेत्रमा स्वायत्त प्रणालीको बढ्दो प्रयोगले पनि जोखिमलाई थप जटिल बनाएको छ ।
एआईको विकासका लागि विश्वव्यापी रूपमा पर्याप्त र प्रभावकारी कानुनी सुरक्षा व्यवस्था अझै स्थापित भइनसकेको विज्ञहरूको धारणा छ । केही कम्पनीहरूले नियमनको माग गरिरहेका भए पनि अत्यधिक नियमनले प्रतिस्पर्धामा असर पार्ने तर्कसमेत गरिरहेका छन् । यस्तो अवस्थामा कम्पनीहरूको स्वनियमन, सरकारी कानुन, स्वतन्त्र सुरक्षा परीक्षण र अन्तर्राष्ट्रिय सहकार्यबिच सन्तुलन खोज्नु आवश्यक देखिन्छ ।
एआईलाई सुस्त पार्ने बहसले सेयर बजारमा ठुलो गिरावट
एआईको विकासमा गति कम गर्नुपर्ने बहस चर्किएपछि एआईसँग सम्बन्धित कम्पनीहरूको सेयरमा सोमबार ठुलो गिरावट आएको छ । एआई कम्पनी एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईले प्रविधिको विकाससँगै सुरक्षा निगरानी र नियमन बढाउनुपर्ने बताएपछि यो बहस तीव्र बनेको हो ।
दक्षिण कोरियामा चिप निर्माता एसके हाइनिक्सको सेयर ६.४ प्रतिशत र सामसङ इलेक्ट्रोनिक्सको शेयर ४.१ प्रतिशतले घटेको छ । एआई कम्पनी ओपनएआईमा ठुलो लगानी गरेको जापानको सफ्टबैंकको सेयर १० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । युरोपमा जर्मनीको इन्फिनियन ७.६ प्रतिशत र नेदरल्यान्ड्सको एएसएमएल ५.२ प्रतिशतले घटेका छन् । अमेरिकी प्रविधि कम्पनीहरूमा आधारित नास्डाक परिसूचक पनि बजार खुल्दा करिब १.८ प्रतिशतले घट्ने प्रारम्भिक अनुमान गरिएको थियो ।
लगानी निर्देशक रस मोल्डका अनुसार एआईको तीव्र विकास नै यसको बलियो पक्षविरुद्ध जाने सम्भावना देखिन थालेको छ । एआई कम्पनीहरूको मूल्याङ्कन अत्यधिक बढेको र सन् १९९० को दशकको अन्त्यतिर देखिएको डटकम उछाल तथा पतन दोहोरिन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।
बैंक अफ इङ्ल्यान्डका पूर्वउपगभर्नर जोन कनलिफले एआईबाट हुने नाफासम्बन्धी अपेक्षामा ठुलो परिवर्तन आए कम्पनीहरूको मूल्यमा व्यापक गिरावट आउन सक्ने चेतावनी दिएका छन् ।
(बीबीसीले चलाएको बहसमा आधारित)
सौजन्य- www.ratopati.com


