यसरी भयो काठमान्डु गोर्खाजमा डेभिड वार्नर ल्याउने सम्झौता

एनपीएल इतिहासमा हालसम्मकै सबैभन्दा ठूला विदेशी अनुबन्धमध्ये एक पूरा गर्दै काठमान्डुले नेपाली क्रिकेट समर्थकमाझ नयाँ उत्साहको वातावरण बनाएको छ ।

३० भदौ, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं गोर्खाजमा अनुबन्धित भएका छन् ।

एनपीएल इतिहासमा हालसम्मकै सबैभन्दा ठूला विदेशी अनुबन्धमध्ये एक पूरा गर्दै काठमान्डुले नेपाली क्रिकेट समर्थकमाझ नयाँ उत्साहको वातावरण बनाएको छ ।

३९ वर्षीय वार्नरले नेपाल आउन पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘काठमाडौं गोर्खाजको हिस्सा बन्न पाउँदा म उत्साहित छु । नेपाली समर्थकहरूसामु खेल्ने प्रतीक्षा गर्न सक्दिनँ ।’

यसअघि अस्ट्रेलियाको क्रिकेट व्यवस्थापन संस्था ‘सिम स्ट्राइक’ ले पनि वार्नरको एनपीएल सहभागिताबारे संकेत गरेको थियो । त्यसपछि काठमाडौं गोर्खाजले सार्वजनिक गरेको रहस्यमय ‘हिन्ट’ र विभिन्न स्रोतका आधारमा वार्नर नै उक्त खेलाडी हुने चर्चा चलेको थियो ।

अन्तत: काठमान्डुले मंगलबार खेलाडी अनुबन्धको आधिकारिक घोषणा नै गरेको हो ।

अस्ट्रेलियाका सबैभन्दा सफल ब्याटरमध्ये एक वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार ९९५ रन बनाएका छन् । वार्नरले टेस्टमा ८७८६, ओडीआईमा ६९३२ र टी-२०आईमा ३२७७ रन बनाएका छन्।

उनी अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा शतक बनाउने खेलाडी हुन् । वार्नरले सन् २०१९ मा पाकिस्तानविरुद्ध अविजित ३३५ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।

अस्ट्रेलियामा मात्र नभएर विश्वका विभिन्न फ्रेन्चाइज लिगमा शानदार प्रदर्शन गरेका वार्नर अब नेपालमा देखिने छन् ।

यसरी सम्भव भयो सम्झौता

काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाले वार्नरको सम्झौता कुनै एक रातको प्रयास नभएर महिनौंदेखिको प्रयास अन्तत: सफल भएको प्रतिक्रिया दिएका छन् ।

‘डेभिड वार्नरलाई एकै रातको प्रयासमा ल्याइएको होइन । यसका लागि महिनौँसम्म छलफल भयो । सबै पक्षसँग विश्वास निर्माण गर्न धैर्य र निरन्तर संवाद आवश्यक थियो। तर उनीजस्तो खेलाडीले काठमाडौंको प्रतिनिधित्व गर्ने र टियु मैदानमा खेल्ने सम्भावनाले हरेक प्रयासलाई मूल्यवान बनायो’ सिरोहियाले भनेका छन् ।

सिरोहियाका अनुसार वार्नरसँगको सम्पर्क दुई–तीन महिनाअघि नै सुरु भएको थियो । उनी स्वयं वार्नर र उनको व्यवस्थापन टोलीसँग प्रत्यक्ष संवादमा थिए भने अस्ट्रेलियामा रहेका गोर्खाजका पूर्वम्यानेजर दीपक क्षेत्रीले पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

‘वार्नरलाई ल्याउन निकै समय लाग्यो । एनपीएल आफैं यति ठूलो लिग बनिसकेको छ कि विश्वभर त्यसको पहुँच पुगेको छ । मेरो सोचाइ एउटै थियो- जसरी पनि एउटा ठूलो प्रभाव सिर्जना गरौं, र त्यो पूर्ण रूपमा फ्यान्सका लागि हो’ सिरोहियाले अनलाइनखबरसँग भने ।

‘अब दीपकजी सिड्नीमै भएको भएर सहज भयो, उहाँले वार्नरको टिमसँग कुराकानी गर्नुभएको थियो र हामी निरन्तर संवादमै थियौं’ उनले थपे ।

यस्तै दीपक क्षेत्रीले आफूले गरेको सहजीकरण नेपाली समर्थकका लागि एउटा उपहार दिएको बताए । ‘म पूर्वखेलाडी भएको नाताले नेपाली समर्थकहरूका लागि यो उपहारस्वरुप वार्नरको सम्झौताका लागि सहजीकरण गरेको छु’ क्षेत्रीले भने ।

सिरोहियाका अनुसार अन्तिम सम्झौतापत्रमा वार्नर र सिरोहियाले हस्ताक्षर गरेका थिए ।

‘सिजन १ र २ मा पनि काठमाडौंका समर्थकको अपेक्षा ठूलो थियो । यसपटक उनीहरूले त्यो पाउनैपर्छ भन्ने सोचेर हामी अगाडि बढ्यौं । डेभिडजस्तो खेलाडीले टियु मैदानमा खेल्नु नै हरेक प्रयासको मूल्य हो’ उनले भने ।

सिरोहियाले वार्नर नेपाल आउन निकै उत्साहित रहेको पनि बताए । उनका अनुसार वार्नरले नेपाली क्रिकेट समर्थकको उत्साह र हालैको बाढीप्रति समेत चासो व्यक्त गरेका छन् ।

‘उहाँ नेपालका प्यासिनेट फ्यान्सबाट प्रभावित हुनुहुन्छ । पछिल्लो समयको बाढीको घटनापछि पनि उहाँले आफ्नो चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँ नेपाल आएर एउटा सकारात्मक प्रभाव छोड्न चाहनुहुन्छ’ सिरोहियाले भने ।

एनपीएलको पहिलो संस्करणमा भारतीय स्टार शिखर धवन कर्णाली याक्सबाट खेलेका थिए । दोस्रो संस्करणमा दक्षिण अफ्रिकाका फाफ डुप्लेसीले विराटनगर किङ्सबाट खेलेका थिए ।

तेस्रो संस्करणमा एनपीएलले अर्को विश्वस्तरीय ओपनर भित्र्याउन सफल भएको छ, जसले प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षणलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

वार्नरको प्रदर्शन

डेभिड वार्नर आधुनिक क्रिकेटका सबैभन्दा सफल ओपनिङ ब्याटरमध्ये एक हुन् । उनले अस्ट्रेलियाका लागि एकदिवसीय विश्वकप, टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप गरी तीनै प्रमुख आईसीसी उपाधि जितेका छन् ।

उनले सन् २०१५ र २०२३ मा ओडीआई विश्वकप, २०२१ मा टी–२० विश्वकप तथा २०२३ मा विश्व टेस्ट च्याम्पियनसिप जितेका थिए । वार्नर अस्ट्रेलियाका लागि टेस्ट, एकदिवसीय र टी–२० तीनै फर्म्याटमा शतक बनाउने दुर्लभ खेलाडीमध्ये एक पनि हुन् ।

टी–२० अन्तर्राष्ट्रियमा उनले ११० खेलमा एक शतकसहित ३,२०० भन्दा बढी रन बनाएका छन् । समग्र टी–२० करियरमा भने ४३९ खेल खेल्दै १० शतक, ११८ अर्धशतक र १४ हजारभन्दा बढी रन बनाएका छन् ।

विश्वभरका फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा समेत वार्नरको प्रभावशाली उपस्थिति छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग ब्यास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल), द हन्ड्रेड, मेजर लिग क्रिकेट, बंगलादेश प्रिमियर लिग (बीपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) र भाइटालिटी ब्लास्टमा खेलिसकेका छन् ।

वार्नरले आफ्नै कप्तानीमा सनराइजर्स हैदराबादलाई आईपीएलको उपाधि पनि जिताएका छन् । सन् २०१६ को आईपीएल फाइनलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई हराएर हैदराबादले आईपीएलको उपाधि जितेको थियो । हैदराबाद बाहेक उनले दिल्ली क्यापिटल्सबाट पनि आईपीएल खेलेका छन् ।

अस्ट्रेलियाको बिग ब्यास लिगमा उनी सिड्नी थन्डर्सको कप्तानी गर्दै खेल्ने गरेका छन् । उनले एक सिजन सिड्नी सिक्सर्सबाट पनि खेले ।

टियु मैदानमा वार्नरको आगमनसँगै तेस्रो संस्करणको एनपीएल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा चर्चित संस्करण बन्ने अपेक्षा गरिएको छ।

सौजन्य- www.onlinekhabar.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये

एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको

काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी