काठमाडौं । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ परेका एक अभियुक्त जिल्ला प्रहरी कार्यालय महोत्तरीबाटै फरार भएका छन् । अन्य प्रहरी कार्यालयमा समेत मुद्दा बाँकी रहेका अभियुक्त प्रहरी नियन्त्रणबाटै फरार भएपछि घटनामा प्रहरीको मिलेमतो भएको आशंकासमेत गरिएको छ ।
फरार हुनेमा कास्कीको पोखरा महानगरपालिका–५ का ३८ वर्षीय रामेश्वर पराजुली छन् । उनीविरुद्ध महोत्तरीमा ठगी तथा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता थियो ।
पराजुलीविरुद्ध महोत्तरीको एकडारा गाउँपालिका–४ का दरवेश राय यादवको जाहेरीमा तीन–तीन लाख रुपैयाँ बिगो दाबी गरिएका ठगी तथा आपराधिक विश्वासघात र बैंकिङ कसुरसम्बन्धी दुईवटा मुद्दा दर्ता भएका थिए ।
दुवै मुद्दामा २२ भदौमा महोत्तरी जिल्ला अदालतले पराजुलीलाई १५–१५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश नवराज कार्कीको इजलासले धरौटीमा छाड्न आदेश दिएपछि उनले तोकिएको धरौटीसमेत बुझाएका थिए ।
तर, अन्य स्थानमा मुद्दा बाँकी रहेकाले धरौटी बुझाएपछि पनि उनलाई तत्काल रिहा गर्न मिल्ने अवस्था थिएन । काठमाडौंस्थित प्रहरी वृत्त बौद्ध र गौशालामा समेत मुद्दा बाँकी रहेकाले ती कार्यालयले अनुसन्धानका लागि पराजुलीलाई बुझाइदिन महोत्तरी प्रहरीलाई पत्राचार गरेका थिए ।
तर, काठमाडौं पठाउने तयारी भइरहेका बेला पराजुली महोत्तरी प्रहरी कार्यालयबाटै फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम सारु मगरले प्रहरीको मिलेमतोमा नभई ड्युटीमा रहेका प्रहरीको कमजोरीको फाइदा उठाएर पराजुली फरार भएको दाबी गरे ।
‘अदालतले धरौटीमा छाड्न आदेश दिएपछि कार्यालय ल्याएर प्रक्रिया पूरा गर्ने काम भइरहेको थियो । त्यतिबेला एकैपटक पाँच–छ जना थुनुवा अदालतबाट ल्याइएको थियो । प्रक्रिया पूरा गरेर काठमाडौं पठाउने तयारी भइरहेका बेला उहाँ भागेको देखिन्छ,’ एसपी सारु मगरले भने ।
उनका अनुसार घटनाबारे आन्तरिक छानबिन भइरहेको छ भने फरार पराजुलीको खोजीसमेत जारी छ ।
घटनाको अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षक विश्वम्भर नाथ साहले पनि प्रहरीको कमजोरीको फाइदा उठाएर पराजुली फरार भएको दाबी गरे । ‘उहाँलाई भगाएको होइन । कमजोरीको फाइदा उठाएर भागेका हुन्,’ उनले भने ।
पराजुली मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालयबाट योजना पारिदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई सिरहा प्रहरीले गत साउन २७ गते पक्राउ गरेको थियो ।
सिरहाका योगेन्द्रकुमार यादवले ७ लाख रुपैयाँको चेक बाउन्स भएको भन्दै पराजुलीविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी दिएका थिए । पक्राउ परेपछि साउन २९ गते पराजुलीले पीडितसँग लेनदेन मिलाई मिलापत्र गरेका थिए ।
त्यसपछि सिरहा प्रहरीले उनलाई रिहा नगरी महोत्तरीमा दर्ता भएका ठगी तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको थियो ।
पराजुलीले मधेश प्रदेशका विभिन्न मन्त्रालयबाट योजना पारिदिने भन्दै रकम लिएको जाहेरीमा उल्लेख छ । यादवको जाहेरीमा गत ११ वैशाख र १ जेठमा ठगी तथा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
पराजुलीविरुद्ध काठमाडौंलगायत विभिन्न स्थानमा समेत यस्तै प्रकृतिका मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ । विवरणअनुसार तारादेवी बस्नेतको जाहेरीमा २०७४ भदौ १५ गते बैंकिङ कसुर, होमबहादुर थापाको जाहेरीमा २०७६ वैशाख ११ गते ठगी तथा महेश बस्नेतको जाहेरीमा २०७६ जेठ १९ गते बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
यस्तै, २०८२ असार १२ गते रोशनकुमार गुरुङको जाहेरीमा बैंकिङ कसुर, साउन १८ गते कुमार गुरुङको जाहेरीमा ठगी र २०८३ वैशाख ४ गते धिरेन्द्रकुमार यादवको जाहेरीमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ ।
तीमध्ये कतिपय मुद्दा फर्स्यौट भइसकेका छन् भने केहीमा अनुसन्धान तथा कानुनी प्रक्रिया बाँकी रहेको जनाइएको छ ।
प्रहरी नियन्त्रणमा रहेका र अन्य कार्यालयमा समेत बुझाउनुपर्ने अभियुक्त प्रहरी कार्यालयबाटै फरार भएपछि घटनामा सुरक्षा व्यवस्थापन तथा प्रहरीको जिम्मेवारीमाथि प्रश्न उठेको छ । घटनाबारे भइरहेको आन्तरिक छानबिनपछि मात्रै प्रहरीको लापरबाही वा अन्य संलग्नताबारे थप तथ्य खुल्नेछ ।


