सरकारले सोमबार २१ बुँदे ‘धितोपत्र बजार सुधार कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ ।
पुँजीगत लाभकरलाई ३.५ प्रतिशतमा झार्नेदेखि नाफा–घाटाका आधारमा यस्तो कर लाभग्राहीले घटाउन पाउने सुविधासहित सोही कर अन्तिम मानिने व्यवस्थासहित अरू थुप्रै सुधारका योजना सरकारले अघि सारेको छ ।
यसै लगत्तै मंगलबार खुलेको बजारमा यसको सकारात्मक असर परेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ४८ अंकमाथिले बढ्न पुगेको छ ।
आज नेप्से सूचक ४८.५७ अंकले बढ्दै २ हजार ६३३.६२ अंकमा उक्लिएको छ ।
यता कारोबारसमेत ठूलो परिमाणमा बढ्दै ८ अर्ब २९ करोड १७ हजार रुपैयाँबराबरका २ करोड ३ लाख ८७ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार हरियाली बनेको छ । २६५ कम्पनीका शेयरमूल्य बढ्दा आज जम्मा १२ वटा कम्पनीको मात्र शेयरमूल्य घटेको छ ।


