निक्षेपको ब्याजदर घट्ने क्रममा ब्रेक : असोजमा ४ बैंकले घटाए, १६ वटाको यथावत्

काठमाडौँ । लामो समयदेखि निरन्तर ओरालो लागिरहेको वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने क्रममा असोज महिनामा आएर ब्रेक लागेको छ ।

२० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात् असोजका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार अधिकांश बैंकले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

बुधबार सार्वजनिक तथ्याङ्कअनुसार २० मध्ये जम्मा चारवटा वाणिज्य बैंकले मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १६ वटा बैंकले भदौकै ब्याजदरलाई असोजमा पनि यथावत् राखेका छन् । समग्र वाणिज्य बैंकहरूको औसत ब्याजदरमा झिनो अङ्कले गिरावट आएको छ ।

विगतका महिनाहरूमा बैंकहरूमा कर्जाको तुलनामा निक्षेपको वृद्धिदर लगातार उच्च हुँदा अधिक तरलता (लगानीयोग्य रकम) को चाप थुप्रिएको थियो । अघिल्लो आर्थिक वर्षमा मात्रै बैंकहरूको निक्षेप करिब १० खर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा लगानी भने करिब ४ खर्ब रुपैयाँले मात्र बढेको थियो । अधिक तरलता भएपछि कोषको लागत घटाउन बैंकहरूले निरन्तर निक्षेपको ब्याजदरमा कैँची चलाउँदै आएका थिए ।

तर पछिल्लो समय अवस्थामा केही परिवर्तन आउन थालेको छ । भदौ १० गते रसुवागढी क्षेत्रमा भएको क्षतिका बाबजुद बजारमा कर्जाको माग सकारात्मक देखिन थालेको छ । चालु आर्थिक वर्षको सुरुवातसँगै र नजिकिँदै गरेका दसैँ, तिहारजस्ता ठुला चाडपर्वलाई लक्षित गर्दै प्रतीतपत्र (एलसी) खुल्ने क्रममा सुधार देखिएको छ । कर्जाको माग पनि बिस्तारै सकारात्मक हुँदै गएपछि बैंकहरू तत्काल थप ब्याजदर घटाउने मुडमा देखिएका छैनन् ।

  • कुन बैंकको ब्याजदर कति ?

असोज महिनाका लागि चारवटा बैंक एभरेस्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्ड र कुमारीले ब्याजदर घटाएका छन् । यसमा सबैभन्दा आक्रामक कटौती एभरेस्ट बैंकले गरेको छ ।

बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एभरेस्ट बैंकले भदौमा ४.०५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई असोजका लागि ०.५५ प्रतिशत बिन्दुले घटाएर ३.५ प्रतिशतमा झारेको छ ।

त्यस्तै, ठुला बैंकमध्येको नबिल बैंकले पनि ०.३० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । भदौमा ४.५५ प्रतिशत ब्याज दिएको नबिलले असोजका लागि ४.२५ प्रतिशत तोकेको छ । यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत बिन्दुले घटाएर ३.७५ प्रतिशत र कुमारी बैंकले ०.०३ प्रतिशत बिन्दुले घटाएर ३.७३ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन् ।

  • ४ प्रतिशतभन्दा तल ब्याज दिने ५ बैंक

लगातारको ब्याजदर कटौतीले असोज महिनाका लागि २० मध्ये ५ वटा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ । जसमा एभरेस्ट बैंक ३.५ प्रतिशत, कुमारी बैंक ३.७३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड ३.७५ प्रतिशत, सिद्धार्थ बैंक ३.७६ प्रतिशत र सिटिजन्स बैंक ३.८५ प्रतिशत रहेका छन् । सिद्धार्थ र सिटिजन्सले असोजमा ब्याजदर नघटाए पनि उनीहरूको दर पहिल्यै ४ प्रतिशतभन्दा तल थियो ।

  • १६ बैंकको ब्याजदर स्थिर, प्रभु बैंकको सर्वाधिक

बाँकी रहेका १६ वटा वाणिज्य बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसमध्ये आधा दर्जन बैंकले ठ्याक्कै ४ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

हिमालयन, प्राइम कमर्सियल, एनआईसी एसिया, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४ प्रतिशत ब्याज दिनेछन् ।

त्यस्तै, नेपाल एसबिआई बैंकले ४.१ प्रतिशत, कृषि विकास बैंक र नेपाल बैंकले समान ४.१५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन् । असोज महिनामा सबैभन्दा धेरै ब्याज दिने बैंकको रूपमा प्रभु बैंक रहेको छ । प्रभु बैंकले भदौकै ४.५५ प्रतिशत ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएको छ । यसैगरी, माछापुच्छ्रे, एनएमबी, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पनि भदौकै समान ४.५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन् ।

  • औसत ब्याजदरमा झिनो गिरावट

बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाका लागि लागु हुने निक्षेपको ब्याजदर प्रकाशित गर्नुपर्ने व्यवस्था छ । सोहीअनुरूप प्रकाशित तथ्याङ्क हेर्दा, भदौ महिनामा २० वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.१४ प्रतिशत रहेको थियो ।

असोज महिनामा ४ बैंकले मात्र ब्याजदर घटाउँदा यो औसत दर ०.०५ प्रतिशत बिन्दुले घटेर ४.०९ प्रतिशत कायम भएको छ । लामो समयदेखिको ब्याजदर घट्ने चक्र करिब–करिब तल्लो बिन्दुमा पुगेर स्थिरतातर्फ उन्मुख भएको सङ्केत देखिएको छ ।

सौजन्य- www.ratopati.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको

काठमाडौं । नेपाल फार्मेसी परिषद् सदस्य नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाप्रति नेपाल फार्मेसी संघले आपत्ति