सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय राजदूत नवीन श्रीवास्तवको सफल कार्यकालका लागि बधाई दिएका थिए ।
काठमाडौं — नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवको सफल कार्यकालका लागि बधाई दिएका थिए । परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
परराष्ट्रमन्त्री खनालले नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा भएका महत्वपूर्ण प्रगति र दुई देशका जनताबीचको सम्बन्धबारे चर्चा गरे । यसैगरी, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारतले देखाएको ऐक्यबद्धता तथा विपद्पछिको खोज, उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति परराष्ट्रमन्त्री खनालले कृतज्ञता व्यक्त गरे ।
मन्त्री खनालले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भावी प्रयासका लागि शुभकामना व्यक्त गर्दै उनी आगामी दिनमा पनि नेपालको असल मित्रका रूपमा रहिरहने विश्वास व्यक्त गरे । भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति प्रशंसा व्यक्त गरे । उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गरे ।
सौजन्य- www.ekantipur.com


