काठमाडौं । क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने भर्चुअल क्रेडिट कार्डको प्रयोग नेपालमा विस्तार हुँदै गएको छ। भुक्तानी प्रणाली सञ्चालक फोनपेको नेटवर्कमा आबद्ध ९ वटा बैंक तथा वित्तीय संस्थामार्फत दुई वर्षमा ५० हजारभन्दा बढी भर्चुअल क्रेडिट कार्ड जारी भएका छन्।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमारका अनुसार, मोबाइल बैंकिङमार्फत क्रेडिट सीमा प्राप्त गरी क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएकाले भर्चुअल क्रेडिट कार्डको प्रयोग बढेको हो। उनका अनुसार फोनपेको नेटवर्कमा करिब २० लाख क्यूआर मर्चेन्ट रहेकाले भौतिक कार्ड र पीओएस मेसिनमा निर्भर नभई देशभर भुक्तानी गर्न सकिने अवस्था बनेको छ।
“९ वटा बैंक तथा वित्तीय संस्था मात्रै आबद्ध हुँदा दुई वर्षमै ५० हजार भर्चुअल कार्ड जारी भएका छन्,” कुमारले भने, “सबै बैंक तथा वित्तीय संस्था सहभागी हुँदा खरिद–बिक्रीको ठूलो हिस्सा नगदरहित बनाउन सकिन्छ।”
समग्र बैंकिङ प्रणालीमा भौतिक क्रेडिट कार्डको संख्या करिब ३ लाख ४१ हजार रहेको फोनपेको दाबी छ। पीओएस मेसिनको संख्या पनि करिब ३ लाख रहेको बताइएको छ। यस्तो अवस्थामा पहिल्यै विस्तार भइसकेको क्यूआर पूर्वाधारमार्फत क्रेडिट सुविधा प्रयोग गर्न सकिने भएकाले भर्चुअल कार्डलाई डिजिटल कर्जाको वैकल्पिक माध्यमका रूपमा अघि सारिएको हो।
लक्ष्मी सनराइजमा सबैभन्दा धेरै भर्चुअल कार्ड
फोनपेको नेटवर्कमा आबद्ध बैंक तथा वित्तीय संस्थामध्ये लक्ष्मी सनराइज बैंकले सबैभन्दा धेरै भर्चुअल क्रेडिट कार्ड जारी गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहका अनुसार हालसम्म करिब १५ हजार भर्चुअल क्रेडिट कार्ड जारी भइसकेका छन्।
शाहका अनुसार ग्राहकको कारोबार, व्यवहार र आवश्यकताको विश्लेषण गरी डिजिटल उत्पादन तथा सेवा विकासमा बैंकले जोड दिएको छ। मोबाइलबाटै क्रेडिट सुविधा लिन, प्रयोग गर्न र व्यवस्थापन गर्न सकिने भएकाले भर्चुअल क्रेडिट कार्ड डिजिटल कारोबारमा अभ्यस्त ग्राहकका लागि उपयोगी विकल्प बनेको उनको भनाइ छ।
यद्यपि डिजिटल क्रेडिटमा कर्जा जोखिम व्यवस्थापन चुनौतीपूर्ण रहेको उनले बताए। ग्राहकको कर्जा तिर्ने क्षमता पहिचान गरी जोखिमअनुसार क्रेडिट सीमा निर्धारण गर्ने अभ्यास भइरहेको उनको भनाइ छ।
सिटिजन्स दोस्रो स्थानमा
धेरै भर्चुअल क्रेडिट कार्ड जारी गर्ने संस्थामध्ये सिटिजन्स बैंक दोस्रो स्थानमा रहेको छ। बैंकले १० हजारभन्दा बढी भर्चुअल क्रेडिट कार्ड जारी गरेको जनाएको छ।
सिटिजन्स बैंकका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरका अनुसार पछिल्लो समय दैनिक कारोबार गर्ने ग्राहक भौतिक कार्डको तुलनामा भर्चुअल कार्डतर्फ आकर्षित भइरहेका छन्।
भौतिक कार्ड छपाइ र सक्रिय गर्नुपर्ने भए पनि भर्चुअल कार्ड स्वीकृत भएपछि मोबाइलमै उपलब्ध हुने भएकाले यसको प्रयोग सहज भएको उनको भनाइ छ। उनका अनुसार विदेश यात्रा, भारतमा हुने कारोबार तथा केही ठूला व्यवसाय र होटलमा भुक्तानी गर्नुपर्ने ग्राहकले भने अझै भौतिक क्रेडिट कार्ड प्रयोग गर्ने गरेका छन्।
क्यूआरमा आधारित भएकाले भर्चुअल क्रेडिट कार्डको पहुँच पीओएस मेसिनको तुलनामा फराकिलो हुने बैंकको भनाइ छ। दुर्गम क्षेत्रका साना तथा ठूला मर्चेन्टमा समेत क्यूआर उपलब्ध भएकाले भर्चुअल कार्डबाट भुक्तानी गर्न सकिने अवस्था बनेको मानन्धरले बताए।
९ बैंक तथा वित्तीय संस्था आबद्ध
हाल फोनपेको नेटवर्कमा सिद्धार्थ बैंक, कुमारी बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, गरिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र मञ्जुश्री फाइनान्स आबद्ध छन्।
सम्बन्धित बैंक वा वित्तीय संस्थामा खाता तथा मोबाइल बैंकिङ सुविधा भएका ग्राहकले बैंकको मूल्याङ्कनअनुसार क्रेडिट सीमा प्राप्त गरेपछि मोबाइल एपमार्फत भर्चुअल कार्ड प्रयोग गर्न सक्छन्। ग्राहकले मोबाइल बैंकिङबाटै आफ्नो कारोबार तथा खर्चको विवरण हेर्न सक्ने व्यवस्था छ।
४५ दिनसम्म ब्याज नलाग्ने
फोनपेका अनुसार भर्चुअल क्रेडिट कार्डबाट सामान तथा सेवा खरिद गर्दा ४५ दिनसम्म ब्याज नलाग्ने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र बक्यौता रकम भुक्तानी नगरेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमअनुसार ब्याज तथा विलम्ब शुल्क लाग्छ।
सानो कारोबारलाई प्रोत्साहन गर्न २ हजार रुपैयाँसम्मको भुक्तानीमा शुल्क नलाग्ने र त्यसभन्दा माथि कारोबारमा ०.६ प्रतिशत शुल्क लाग्ने व्यवस्था रहेको फोनपेका प्रमुख कार्यकारी अधिकृत कुमारले बताए। ठूला कारोबारमा व्यापारीलाई पर्ने भार कम गर्न अधिकतम शुल्क ३०० रुपैयाँमा सीमित गरिएको उनको भनाइ छ। भौतिक क्रेडिट कार्डमा भने कारोबार रकमको ३ प्रतिशतसम्म शुल्क लाग्ने व्यवस्था रहेको उनले बताए।
बैंकका लागि पनि लागत घटाउने माध्यम
भर्चुअल क्रेडिट कार्डले ग्राहकसँगै बैंक तथा वित्तीय संस्थाको लागतसमेत घटाउने फोनपेको भनाइ छ। भौतिक कार्ड छपाइ, वितरण र पीओएस पूर्वाधार विस्तारमा हुने खर्चको तुलनामा विद्यमान मोबाइल बैंकिङ तथा क्यूआर संरचनाको प्रयोग गर्न सकिने भएकाले डिजिटल क्रेडिट कार्डको लागत कम हुने बताइएको छ।
फोनपेका अनुसार भर्चुअल क्रेडिट कार्डबाट प्रवाह भएको कर्जामा डिफल्ट दर १ देखि २ प्रतिशतको हाराहारीमा रहेको छ। नियमित आम्दानी र खर्च गर्ने साना ग्राहकलाई लक्षित गरिएकाले भुक्तानी अनुशासन तुलनात्मक रूपमा राम्रो रहेको कम्पनीको दाबी छ।
प्रोभिजनिङका कारण बैंकहरू अझै सतर्क
फोनपेका अनुसार क्रेडिट कार्ड विस्तारमा नियामकीय कर्जा नोक्सानी व्यवस्थाले पनि प्रभाव पारेको छ। ९० दिनभित्र भुक्तानी नभएको कर्जामा शतप्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाका कारण बैंक तथा वित्तीय संस्था क्रेडिट कार्ड विस्तारमा सतर्क हुने गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारको भनाइ छ।
उक्त व्यवस्था थप लचिलो भएमा नेपालमा क्रेडिट कार्डको बजार विस्तार हुन सक्ने उनको दाबी छ। आगामी दिनमा भर्चुअल क्रेडिट कार्डलाई केवल डिजिटल कार्डका रूपमा नभई तथ्यांकमा आधारित व्यक्तिगत तथा जिम्मेवार डिजिटल कर्जा प्लेटफर्मका रूपमा विकास गर्न सकिने उनको भनाइ छ।
फोनपेका अनुसार भर्चुअल क्रेडिट कार्डको विस्तारले साना तथा मझौला व्यवसायमा डिजिटल भुक्तानी बढाउनुका साथै बैंकिङ पहुँच र नगदरहित कारोबार विस्तारमा समेत योगदान पुर्याउन सक्छ।


