जलवायु जोखिम न्यूनीकरणको माग गर्दै सामागाउँका युवा मनास्लु बेसक्याम्पमा आमरण अनशन बस्ने

गोरखा । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिम न्यूनीकरण र जलवायु न्यायको माग गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन् ।

स्थानीय धावा नोर्बु लामाका अनुसार उनी आगामी असोज २ गतेदेखि १८ गतेसम्म मनास्लु बेसक्याम्पमा आमरण अनशन बस्नेछन् । हिमाली क्षेत्रले भोगिरहेका जलवायुजन्य जोखिमप्रति सरकारको ध्यानाकर्षण गराउन अनशन बस्न लागिएको उनले बताए ।

लामाले गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै तयार पारिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरी चौकीमा बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ आसपासमा नयाँ हिमताल थपिँदै गएको उल्लेख गर्दै त्यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा न्यूनीकरणका लागि तत्काल पहल गर्न सरकारसँग माग गरिएको छ ।

पत्रमा पुंगेन क्षेत्रमा थपिएका ताल, वीरेन्द्र ताल, कालताल, घुन्सारफुकको ताल तथा न्योचुथानमा रहेका तीन ठूला जोखिमयुक्त हिमतालसहित मनास्लु र चुम क्षेत्रमा रहेका अन्य हिमतालको हवाई अनुगमन तथा निरीक्षण गर्न माग गरिएको छ ।

त्यस्तै, ती हिमतालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गर्न र ताल तथा नदीमा पानीको जलसतह मापन गर्ने संयन्त्र जडान गर्न माग गरिएको छ । जोखिम बढेको अवस्थामा स्थानीयलाई तत्काल सचेत गराउन साइरन प्रणाली जडान गर्नुपर्ने माग पनि गरिएको छ ।

नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त अध्ययन तथा अनुगमन गर्नुपर्ने माग ध्यानाकर्षण पत्रमा छ । एमक्यापलगायत हिमाली क्षेत्रसँग सम्बन्धित संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन गरी जोखिममा रहेका नागरिकको सुरक्षाका लागि पहल गर्नुपर्ने उनीहरूको माग छ ।

हिमाली क्षेत्रका विद्यालयको पाठ्यक्रममा जलवायु परिवर्तनको प्रभावसम्बन्धी विषय समेट्न पनि माग गरिएको छ । विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान करिब शून्य दशमलव चार प्रतिशत मात्र रहेको उल्लेख गर्दै विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायु क्षतिपूर्ति र जलवायु न्यायका लागि सरकारले अन्तर्राष्ट्रियस्तरमा पहल गर्नुपर्ने माग गरिएको छ ।

जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा आयोजना हुने जलवायुसम्बन्धी बैठक तथा सेमिनार हिमाली क्षेत्रमा पनि आयोजना गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी एवं गैरसरकारी संस्थालाई आग्रह गरिएको छ ।

सन् २०२७ मा एल निनोको प्रभावका कारण हिमाली क्षेत्रमा थप असर पर्न सक्ने भन्दै हिमाली बस्तीका नागरिकको जीवन रक्षाका लागि पूर्वतयारी गर्नसमेत माग गरिएको छ ।

लामाले सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफ्नो मागमा समर्थन जनाउँदै अनशनमा साथ दिन धेरै युवा तयार रहेको बताए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये

एजेन्सी । नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको

काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं भित्रिने प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी