काठमाडौं। बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्य असुल्न थालिएपछि बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढाएको छ ।
बजारमा चिनीको मूल्य प्रतिकेजी १५० देखि १६० रूपैयाँसम्म पुर्याएर कालोबजारी हुन थालेपछि विभागले साल्ट ट्रेडिङ मार्फत् मूल्य निर्धारण नै गर्ने भएको हो ।
तत्कालका लागि ठूला डिपार्टमेन्ट स्टोरहरूमा प्रतिकेजी ११० रूपैयाँ मूल्य निर्धारण गरिएको विभागका महानिर्देशक मोतीराम सापकोटाले नेपाल प्रेसलाई बताउनुभयो । सापकोटाका अनुसार भाटभटेनी, सेल्सबेरी, बिगमार्टलगायतका प्रमुख सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरहरूले अब अनिवार्य रूपमा प्रतिकेजी ११० रुपैयाँमै चिनी बिक्री गर्नुपर्नेछ ।
अनुगमनलाई तीव्र पार्दै सबैतिर यही मूल्य लागू गराइने उहाँको भनाइ छ । खुद्रा बजारमा व्यापारीहरूले कृत्रिम अभाव देखाएर उपभोक्ताबाट मनपरी मूल्य लिइरहेको गुनासो बढिरहेको छ । चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालोबजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन विभागले साल्ट ट्रेडिङ कर्पोरेसनसँग समन्वय गरी मौज्दात र वितरण प्रणालीलाई चुस्त बनाइने विभागले जनाएको छ ।
बजारमा अनुचित नाफाखोरी, कृत्रिम अभाव सिर्जना गर्ने जो-कोहीलाई उपभोक्ता संरक्षण ऐनअनुसार कडा कारबाही गरिने सापकोटाले बताउनुभयो ।


