काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७ः३५ बजेको उडानमार्फत काठमाडौं–नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका साथै विपद्पछिको पुनर्निर्माणलगायत विषयमा छलफल हुने बताइएको छ । भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय वित्तमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
अर्थमन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे भारतीय वित्तमन्त्री सीतारमणसँग भेटवार्ता गर्नेछन् । शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साँझ ७ः३० बजे भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा अर्थमन्त्री वाग्ले सहभागी हुनेछन् ।
शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे नेपाल फर्किने कार्यक्रम रहेको छ ।
भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।


