काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा सरकारको खर्च आम्दानीभन्दा करिब ९ अर्ब ७२ करोड रुपैयाँले बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
यो रकम वार्षिक बजेटको ९ दशमलव ४१ प्रतिशत हो । सरकारले यस अवधिमा चालुतर्फ १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा भदौ मसान्तसम्म ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ । यो वार्षिक लक्ष्यको १ दशमलव ७८ प्रतिशत हो ।
वित्तीय व्यवस्थातर्फ भने ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । यस शीर्षकमा चालु आर्थिक वर्षका लागि ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसअनुसार वित्तीय व्यवस्थातर्फ १६ दशमलव ५९ प्रतिशत बजेट खर्च भइसकेको छ ।
यस अवधिमा सरकारको कुल राजस्व संकलन १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ पुगेको छ । यो वार्षिक लक्ष्यको ११ दशमलव ५८ प्रतिशत हो । यसरी भदौ मसान्तसम्म सरकारको खर्च राजस्व संकलनभन्दा ९ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ बढी देखिएको छ ।
कर राजस्वतर्फ सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । भदौ मसान्तसम्म १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको १२ दशमलव २९ प्रतिशत कर राजस्व संकलन भएको छ ।
गैरकर राजस्वतर्फ १ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ अर्थात् ६ दशमलव ९ प्रतिशत संकलन भएको छ ।
त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ । भदौ मसान्तसम्म ५ अर्ब ५३ करोड रुपैयाँ अर्थात् लक्ष्यको ८ दशमलव ९६ प्रतिशत वैदेशिक अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।


