काठमाडौँ । फुटबल खेलमा प्रतिस्पर्धीसँग मिलेमतो (म्याच फिक्सिङ) गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एन्फाका ६० वर्षीय कोषाध्यक्ष जोशी र ५५ वर्षीय लेखा अधिकृत पाण्डेलाई पक्राउ गरेको हो। सीआईबीका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पत्र तथा वसन्त रिजालको जाहेरीका आधारमा सुरु गरिएको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले एन्फाको सातदोबाटोस्थित मुख्यालयमा छापा मारेर दुवै जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनीहरूमाथि फुटबल खेलमा प्रतिस्पर्धीसँग मिलेमतो गरी खेलको नतिजा प्रभावित पार्ने गतिविधिमा संलग्न भएको आरोपमा अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानका लागि हिरासतमा राखिएका उनीहरूलाई थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले चार दिनको म्याद थप गरेको छ। अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले दुवै जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। सीआईबीले उनीहरूमाथि म्याच फिक्सिङ, अनियमितता तथा सम्भावित आर्थिक कारोबारलगायत विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानका क्रममा म्याच फिक्सिङमा उनीहरूको भूमिका, अन्य व्यक्तिको संलग्नता तथा त्यससँग जोडिएको आर्थिक लेनदेनबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ। एन्फाका पदाधिकारी नै म्याच फिक्सिङको आरोपमा पक्राउ परेपछि नेपाली फुटबलमा यस विषयले थप चासो सिर्जना गरेको छ। यसअघि पनि नेपाली फुटबलमा म्याच फिक्सिङका आरोपमा खेलाडी तथा पदाधिकारीमाथि अनुसन्धान र कारबाही भएका घटना सार्वजनिक भएका छन्।


